काठमाडौं, ४ असोज । शिक्षक परिवारकी मान्यता थापा बाबुआमाको सपना पूरा गर्नका निम्ति पैत्रीक सम्पत्ति बेचेर डाक्टर पढ्न चितवन मेडिकल कलेजमा भर्ना भइन् ।
५० लाख भन्दा बढी रकम तिरेर भर्ना भएकी थापा अहिले एमबीबीएस अन्तिम बर्षमा छिन् । मेडिकल कलेजले हरेक बर्ष अतिरिक्त शुल्क भनेर माग गर्यो, तिर्दै गइन् । बाबुआमाको सपना पूरा गर्दा अन्तिम बर्षमा थप ५ लाख अतिरिक्त रकम थापासँग मागिएको छ । कहाँबाट, ल्याउने ?
मेडिकल शिक्षामा आफूले पाएको आर्थिक दुख एकातिर छ, आफूजस्तै निक्कै विद्यार्थीले पाउने आर्थिक पीडाविरुद्ध उनले आवाज उठाउन थालिन् । अहिले उनलाई आफ्नो आवाज बोलिदिने नेता जस्तो ठान्छन् विद्यार्थी । तर, उनलाई नेता हुँ भन्न मन लाग्दैन ।
‘नेपालमा नेता बन्नु वा भनिनु भनेको गलत जस्तो लाग्छ । तैपनि मेडिकल शिक्षामा जुन प्रकारले हामीलाई पीडित बनाइएको छ, यो मेरो मात्र हैन । मजस्ता अनेक साधारण परिवारको आर्थिक पीडा पनि हो’, उनी भन्छिन् ।
घरी–घरी कलेजले उनलाई समस्यामा पार्ने हो की भन्ने संत्रास एकातिर छ । ८४ प्रतिशत अंक ल्याउँदा पनि छात्रवृत्ति नपाएकी उनले मेडिकल शिक्षामा लुट्न पाइँदैन भन्ने आवाज बलियो बनाएकी छन् । त्यसैले उनको नारा ‘मेडिकल माफिया मुर्दावाद’ भन्दा अनेक विद्यार्थीले जोडबल गरी भन्छन्– मुर्दावाद, मुर्दावाद ।
यहि सिलसिलामा उनी पक्राउ समेत परिन् । मेडिकल कलेज सञ्चालकको आग्रहमा चितवन प्रहरीले अन्य विद्यार्थीसँगै हिरासतमा लगेको थियो । खासगरी मेडिकल माफियाविरुद्ध बोलेका नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसँगै थापालाई पनि हिरासतमा राखिएको थियो ।
थापा भन्छिन्, ‘अब मलाई डर छैन । प्रहरीको लाठी खाइसकें, हिरासतमा बसीसकें । म पनि डराएँ भने मेडिकल कलेजले दिने आर्थिक पीडामा आउने पुस्ताका परिवारको सम्पत्ती नै सकिनेछ ।’











प्रतिक्रिया