पोखरा, ३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको बलिदानीबाट बनेको नेपालको संविधान कार्यान्वयनमा तीनवटै तहका सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ ।
पाँचौँ संविधान दिवसका अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशद्वारा आयोजित ‘नेपालको संविधानका चार वर्ष र भाबी दिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेश सरकारलाई अधिकार सम्पन्न गर्नु सङ्घको दायित्व भएको बताउनुभयो ।
संविधानले मुलुकका सातवटै प्रदेशलाई समान अधिकार प्रदान गरेको उल्लेख गर्दै बाहिर रहेको शक्तिलाई मुलुकको मूलधारमा ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
संविधान गतिशील दस्तावेज रहेका कारण जनताको चाहना र भावनाअनुसार परिर्वतन गर्न सकिने बताउँदै मुख्यमन्त्री गुरुङले यसका विषयमा अहिले नै प्रश्न उठाउने बेला नभएको बताउनुभयो ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपालको संविधानले समावेशी र समानुपातिक नेतृत्व अवलम्बन गरेको बताउँदै शून्य अवस्थाबाट अगाडि बढेको प्रदेशसभा कानून निर्माणमा जुटेको बताउनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानमा मौलिक हक र यसको कार्यान्वयको अवस्था र न्यायपालिकाको भूमिका तथा वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा विपीन अधिकारीले नेपालको संविधान कार्यान्वयनका चार वर्ष एक सिंहावलोकन विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । –रासस











प्रतिक्रिया