बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

न्यूयोर्क उडे वनमन्त्री

दैनिक नेपाल २०७६ असोज ३ गते ९:१४

काठमाडौं, ३ असोज । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसंघको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहीबार राती अमेरिकाको न्यूर्योक उडेका छन् ।

सम्मेलन आगामी २३ सेप्टेम्बर (सोमबार) देखि न्यूयोकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा  हुनेछ ।  मन्त्री बस्नेतले सम्मेलनको दुई शत्रलाई सम्बोधन गर्ने कार्यसूची छ । उनले ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ विषयमा सम्बोधन गर्ने जनाइएको छ ।

बस्नेत आगामी मंगलबार संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी विशेष सभामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

न्यूयोर्क प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्न विश्व समुदायलाई अपिल गरिने जानकारी दिए । मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण विश्व भयावह संकटको नजिक पुगेकाले यसको समाधान नियमित प्रयासबाट मात्र सम्भव नहुने भएकाले विश्वस्तरबाटै साझा पहल हुनुपर्ने विषय उठाउने बताए ।

नेपालले यसपटक लजवायु परिवर्तनमा न्यून भूमिका रहेका तर असरबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक श्रोतको व्यवस्था गर्न अपिल गर्ने भएको छ । यस्तै नेपालले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमालयहरु पग्लने क्रम बढेको र त्यसको प्रभावबाट विश्व नै प्रभावित भएको विषयमा समेत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ ।

आगामी नोभेम्बरमा चिलीमा हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन (कोप) को तयारी स्वरुप यो सम्मेलन हुन लागेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित