बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

उपलब्धी उल्ट्याउन अराजक तत्वहरू सक्रियः प्रचण्ड

दैनिक नेपाल २०७६ असोज ३ गते ८:४१

काठमाडौं, ३ असाेज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी उल्ट्याउनका लागि केही अराजक तत्वहरु लागि परेको बताएका छन् ।

संविधान दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रचण्डले व्यवस्थाकै विरुद्ध लागि परेकाहरुले जनतालाई भ्रममा पार्न विभिन्न गतिविधि गरिरहेकाले त्यसप्रति सचेत हुनु पर्ने उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘ जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गरी सम्पूर्ण परिवर्तनकारी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।’

उनले सन्देशमा भनेका छन्, ‘वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ । नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो ।’

संविधानले नेपालमा बसोबास गर्ने समस्त आदिबासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पीडित, पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको प्रचण्डको भनाई छ ।

उनले नेपालको संविधानको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित