११ मंसिर २०८३, शुक्रबार

राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदान : पर्यटनमन्त्री भट्टराई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गीत सङ्गीतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ ।

सांस्कृतिक संस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज साँझ राष्ट्रिय नाचघरमा आयोजित ‘सारङ्गीमा देश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाली समाजलाई सङ्गीतको माध्यमबाट राष्ट्रलाई योगदान गर्ने गन्धर्व जातिको योगदान अविस्मरणीय रहेकोसमेत उल्लेख गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो, “नेपालको एकतासँगै आगामी यात्राको अठोट र नेपाली जनताको भावनात्मक सम्बन्धलाई सारङ्गीको धुनले माथि उठाउन सहयोग गर्ने मेरो विश्वास छ ।”

जसरी संविधान अनुपम र नवीन छ त्यसरी नै नेपालको गीत, सङ्गीत, साहित्य र जातजातिको क्षेत्र पनि विशिष्ट रहेको भन्दै उहाँले देशभरमा विगतदेखि आजसम्म विभिन्न जाति र जनजातिले जन्मदेखि मृत्युसम्म बजाइने बाजाको गौरवपूर्ण इतिहास रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले सात हजारभन्दा बढी बाजा सङ्कलन गरिसकेकाले यसलाई छिट्टै राष्ट्रिय सङ्ग्रहालयमा राख्ने योजना रहेको जानकारी दिनुभयो । बाँकी बाजा खेज्ने अभियानमा सरकार रहेको उहाँको भनाइ थियो ।

संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने संविधानसभालगायत साथ र सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभयो । सो क्रममा २० जना सारङ्गीवादकले विभिन्न भाकामा सारङ्गी रेटेर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो । –रासस