१५ कार्तिक २०८३, आइतबार

अस्पतालमा जीवन योग प्रयोगशालाको उद्घाटन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, १ असोज । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित बिपी नेत्र प्रतिष्ठानद्वारा सञ्चालित चियर्स अस्पतालमा आजदेखि जीवन योग प्रयोगशाला सञ्चालनमा आएको छ ।

अस्पताल निर्माणको परिकल्पनाकार एवं संस्थापक अध्यक्ष प्रा डा मदन उपाध्यायले अस्पताल परिसरमा जीवन योग प्रयोगशाला सञ्चालनको प्रस्ताव गरेपछि सञ्चालनमा आएको प्रयोगशालाको आज जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माले उद्घाटन गर्नुभयो ।

अध्यात्म विज्ञान प्रवचनसमेतको आयोजना भएको उक्त कार्यक्रममा उहाँले भगवान् गौतम बुद्धका महावाणीका साथ अध्यात्म र विज्ञानका जोडिएको बताउनुभयो ।

मनुष्यमा अध्यात्मको अभाव भएमा हिनताबोध जन्मिन्छ र हिनताबोधबाट नै लोभ जन्मिन्छ भन्दै उहाँले भन्नुभयो, “लोभले नै मनुष्य भयग्रस्त हुन्छ त्यसैले जसको जीवनमा लोभ हुँदैन ऊ मात्र संसारमै अद्भूत कर्म गर्ने साहसी व्यक्ति हुन्छ, यो केवल योगाध्यानमय वा आध्यात्मिक जीवनमा मात्रै सम्भव हुन्छ ।”

देशको कानूनले बाहिरी समानता खोज्ने तर अध्यात्मले आन्तरिक समत्वको अनुभूति दिने चर्चा गर्दै उहाँले विज्ञानले बाहिरी सुख सुविधा दिने र अध्यात्मले आन्तरिक खुशी र शान्तिको अनुभूति दिने भनाइ राख्नुभयो ।

खुशीको विज्ञान नै अध्यात्म हो भन्दै उहाँले अध्यात्म र विज्ञानको सन्तुलनबाट जीवनमा सुख, शान्ति एवं समृद्धि हासिल हुने भएकाले सबैलाई निरन्तर योग, ध्यान गर्दै आफ्ना दैनिक कर्म सम्पादन गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले योगध्यान र विज्ञानको चर्चा गर्दै भन्नुभयो, “अस्पताल र चिकित्सा विज्ञानले मनुष्यमा देखिने दुई आँखाको उपचार गर्छ तर नदेखिने तेस्रो आँखाको उपचार जीवन विज्ञानले योग ध्यानका माध्यमबाट गरिरहेको छ ।”

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले अध्यात्मका माध्यमबाट मात्र मनुष्य जीवन सन्तुलित हुने बताउनुभयो भने हाँस्य कलाकार जितु नेपालले पनि अस्पताल परिसरमा दैनिक हुने योगध्यानको महत्वका बारेमा चर्चा गर्नुभयो ।

अस्पतालका अध्यक्ष डा गौरीशङ्करलाल दास, डा सञ्जीव उपाध्यायलगायतले मानिसले अध्यात्म ज्ञानको अभावमा जीवनलाई चिन्न नसक्दा भांैतारिरहेको बताउँदै जीवनको वास्तविक पहिचान र महत्वका बारेमा बुझेपछि मानिसले शान्ति पाउने भनाइ राख्नुभयो ।

जीवन विज्ञानकी अभियन्ता विष्णुकुमारी भट्टराईले आजदेखि सञ्चालनमा आएको प्रयोगशालामा दैनिक ध्यान, योग र अध्यात्ममार्फत मानवीय जीवनलाई परिवर्तन एवं आध्यात्मिक सुख प्रदान गर्ने कार्य गरिने बताउनुभयो । –रासस