
इटहरी, ३० भदौ । १ सय ४४ बर्ष सम्म बाँचेर इतिहाँस बनाएका वीर नारायण माझीको गाँउसम्म पुग्ने बाटो कालोपत्रे हुने भएको छ ।
इटहरी उपमहानगरको बहुबर्षे गौरवको योजना अनुरुप इटहरी ११ भुसकलुवादेखि वीरनारायण माझीको घर रहेको इटहरी १० आमझोंगीसम्म पुग्ने वीरनारायण मार्ग सडकको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिल्यान्यास गरेका छन् ।
डेढ किलोमिटर लामो बाटो आगामी वर्ष जेठ ४ गते सम्ममा कालोपत्रे भइसक्ने गरि सम्झौता भएको छ । यो बाटोको शिल्यान्यास सँगै इटहरीमा बहुबर्षे सडक निर्माण सुरु भएको छ । गाउँका ११ मूल बाटोलाई बहुबर्षे सडकका रुपमा उपमहानगरले कालोपत्रे गर्दैछ ।
शिल्यान्साय कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख द्वारिकलाल चौधरीले अन्य सडक निर्माण र महत्वपूर्ण निर्माण परियोजना चाँडै सुरु हुने जानकारी दिए । उनले अब गाउँका जनताले उपमहानगवासी भएको अनुभूत गर्ने विश्वास व्यक्त गरे ।
प्रमुख चौधरीले सडक निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नहुने दावी गरे । उनले जनताले तिरेको करको कहिल्यै पनि दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए ।
उपप्रमुख लक्ष्मी गौतमले इटहरीको गाउँ गाउँका वासिन्दालाई नगरवासी भएको पहिलो अनुभूति दिलाउन सडक निर्माण थालिएको बताइन् ।
वडा नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीले गाँउका जनता विकासको गति देखेर उत्साहित भएको बताए । वडा नम्वर ११ का वडाध्यक्ष रुपेश चौधरीले ऐतिहासिक व्यक्तित्व वीर नारायण माझीको नामको बाटो कालोपत्रे हुने भएपछि वडावासी खुशी रहेको जनाए ।
इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार सम्झौता भन्दा अघिनै निर्माण सकिने गरि आजैदेखि निर्माणको कामले तीव्रता लिनेछ । वीर नारायण माझीका पनाती हरी नारायण माझीले उपमहानगरले यो सडक पीच गर्नु वीर नारायण माझीप्रति सम्मान भएको अनुभूति गरेको प्रतिक्रिया दिए ।
इटहरी उपमहानगरका कर्मचारी महेश सुवेदीले २०५४ सालमा जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो नगरपरिषद वीर नारायण माझीले नै उदघाटन गरेको स्मरण गरे । अहिले उपमहानगर भएपछिको पहिलो जनप्रतिनिधिले उनकै गाउँमा पहिलो बहुवर्षिय योजना शिल्यान्यास भएको बताए ।
स्थानीय गयादेवी विश्वासले हिलो र धुलोबाट मुक्ति पाउने भएकाले आफूहरु हर्षित भएको बताइन् । वीर नारायण माझीका पनाती हरीनारायणका अनुसार वीरनारायण माझीको जन्म विक्रम सम्वत १९१३ मा र निधन २०५७ सालमा भएको थियो ।












प्रतिक्रिया