जनकपुर, ३० भदाै । जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर तोडफोड र राष्ट्रपतिको अपमान प्रकरणमा मुद्दा खेपिरहेकाहरुलाई जिल्ला अदालत धनुषाले सफाइ दिएको छ ।
५ वर्षदेखि जानकी मन्दिर तोडफोड र राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गरेको भन्दै मुद्दा खेपिरहेकाहरुलाई न्यायाधीश राजेश कटवालको इजलाश नम्बर ७ ले आइतबार सफाइ दिएको हो ।
प्राचीन सम्पदा तोडफोड मुद्दा खेपिरहेका आठै जनाले सफाइ पाएका हुन् । तेस्रो मधेस आन्दोलन उत्कर्षमा रहेको समयमा २०७२ सालमा विवाहपञ्चमीका दिन जानकी मन्दिरमा पूजाअर्चनाका लागि राष्ट्रपति भण्डारी पुगेको समयमा तत्कालीन संंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका थिए ।
मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि जाहेरीको आधारमा १० जनाविरुद्ध प्राचीन सम्पदा तोडफोड गरेको भन्दै मुद्दा दर्ता गराइएको थियो ।
मुद्दा खेपिरहेका १० मध्ये १ जनामाथि मुद्दा ठहर हुन सकेन भने आरोपित रामचन्द्र चौधरीको मृत्यु भएको थियो । बाँकी आठै जनालाई जानकी मन्दिर तोडफोडमा संलग्न नरहेको भन्दै अदालतले सफाइ दिएको हो ।
उनीहरुविरुद्ध १ पुस २०७२ मा मुद्दा दर्ता गराइएको थियो । सफाइ पाउनेहरुमा सुशील कर्ण, शिला झा, नवीन यादव, अशोक प्रसैला, विवेकचन्द्र अधिकारी, सीता चौधरी, विमला साह र रामजी राय रहेका छन् । अदालतबाट सफाइ पाइसकेपछि मुद्दा खेपिरहेका सुशील कर्णले सत्यको जित भएको बताए ।












प्रतिक्रिया