सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

तरुण दलमा ‘शेरबहादुर भर्सेस रामचन्द्र’ कारबाही प्रकरण

दैनिक नेपाल २०७६ भदौ २९ गते १३:११

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा सभापति शेरबहादुुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल खेमाको ‘विज्ञप्तियुद्ध’ सतहमा देखिएको छ ।

सभापति जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले एकले अर्कालाई कारबाही गरेको पत्र सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो ।

विगठित अवस्थामा रहेको नेपाल विद्यार्थी संघको राष्ट्रिय अधिवेशन र नयाँ सभापति छान्ने टड्कारो समस्या परिरहेका बेला कांग्रेस नेतृत्वलाई तरुण दलको समस्याले थप चापमा पारेको छ ।

कतिपयले सभापति र महासचिवको विज्ञप्तियुद्धले तरुण दल विगठनको अवस्थामा पुगेको समेत बताएका छन् । तरुण दलका एक नेता भन्छन्,‘दुवैलाई बर्खास्त गरी नयाँ नेतृत्व दिनुपर्छ, अनुशासन र मर्यादा कायम नराख्ने दुवैलाई कारबाही गरियोस् ।’

बस्नेत देउवापत्नी आर्जु राणाको सिफारिसका आधारमा तरुण दलको सभापति भएका थिए भने पदाधिकारी मिलाउँदा पौडेल कोटामा शाही महासचिव बनेका थिए ।

‘निर्वाचन प्रणालीबाट नआएका कारण दुवैले एकअर्कालाई कारबाहीको पत्र लेखेका छन्, नेतृत्वको मनोपोलीको प्रभावका रूपमा यसलाई बुझिनुपर्छ’, ति नेता भन्छन्,‘यो गुटकै समस्या यहाँ देखियो ।’

तीन बर्ष अघि पोखरा अधिवेशनबाट नेताहरुको भागबण्डाको आधारमा बस्नेतको सभापतित्वमा, नेता कृष्णप्रसाद सिटौला निकट उत्तम चापाँगाईलाई उपाध्यक्ष, शाही महासचिव र विद्वान गुरुङ्गलाई कोषाध्यक्ष बनेको थियो । विधानत नेपाल तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने प्राबधान छ ।

शनिबार सभापति बस्नेतले महासचिव शाहीलाई संगठनको हितविपरित कार्य गरेको भन्दै तरुण दलको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरेलगत्तै महासचिव शाहीले समेत सभापति बस्नेतलाई कारबाही गरिएको पत्र सार्वजनिक भएको थियो ।

कार्य समिति विस्तार नगरेर लाखौं तरुण युवाको भविष्यमाथि खेलबाड गरेको, तानाशाही र मनोमानी हिसाबले तरुण दल सञ्चालन गरेको र बाढिपिडितको नाममा संकलन भएको करोडौं रकम हिनामिना गरेको आरोप बस्नेतमाथि लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित