बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

अर्घाखाँचीको बलेबाङमा पहिलो पटक स्वास्थ्य शिविर हुँदै

दैनिक नेपाल २०७६ भदौ २९ गते ११:४१

अर्घाखाँची, २९ भदौ । जिल्लाको बलेबाङमा पहिलो पटक स्वास्थ्य शिविर हुने भएको छ । सन्धिखर्क नगरपालिका वडा नं ५ बलेवाङमा असोज ११ र १२ गते शिविर सञ्चालन हुने भएको हो ।

शिविरको कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल (बलदेव)ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल, लायन्स क्लव ईन्टरनेशनल ३२५बी१ का गभर्नर इन्दु लम्साल तथा प्रदेश नं ५ का विभिन्न सामजिक व्यक्तित्वहरुको उपस्थिति रहने छ ।

विश्व मुटुरोग दिवसको अवसरमा लायन्स क्लव अफ काठमाण्डौँ लर्ड बुद्धको मुख्य आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र शसस्त्र प्रहरी बल नेपालको सह आयोजना रहने गरी शिविर संचालन हुने भएको हो ।

शिविरमा विशेषज्ञ डाक्टहरुले बिरामीको स्वास्थ्य जाँच गर्ने गर्नेछन् । शिविरमा दीर्घ रोगीलाई ३ महिना सम्मका लागि निःशुल्क औषधी वितरण र अन्य विरामीलाई नि:शुल्क उपचार गरिने छ ।

शिविरमा ईको, ईसीजी, यूएसजी तथा अन्य परीक्षणहरु पनि निःशुल्क गरिने छ । विगतमा पनि गुल्मी, दोलखा र उदयपुरमा वृहत स्वास्थ्य शिविर संचालन गरिसकेको क्लबका अध्यक्ष हरि अधिकरिले बताए ।

“दूरदराजसम्म पुगेर विरामीको उपचार गर्ने हाम्रो लक्ष्य रहन्छ” उनले भने, “संस्थाले स्वास्थ्य सेवा सँगै निरन्तर अन्य विभिन्न सामाजिक कामहरु पनि गरिरहेको छ ।”

शिविरमा विभिन्न ठूला अस्पतालबाट उपलव्ध गराउने स्वास्थ्य सेवा प्रदान गर्ने अधिकारीले बताए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रोषन कुमार झा (सशस्त्र प्रहरी अस्पताल बलम्बु), वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुमन्त वन्जाडे (मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सुमित्रा थापा, वरिष्ठ दाँत तथा मुख रोग विशेषज्ञ डा.बर्षा थापा (प्रदेश नं ५ दाँत तथा मुखरोग प्रमुख), वरिष्ठ हाड जोर्नि तथा नसा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ, विभिन्न मेडिकल अफिसर, ल्याब टेक्निसियन तथा असिस्टेन्ट, स्टाफ नर्सहरु सहितको ४० जनाको टोलीले स्वास्थ्य जाँच गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

विभिन्न संघ संस्थाले यसअघिका दिनमा सदरमुकाम केन्द्रीत शिविरहरु संचालन गर्दै आइरहेतापनि पछाडी परेको बस्तिमा शिविरको आवश्यकता महसुस गर्दै यो स्थान छनौट गरिएको आयोजक संस्थाले जनाएको छ ।

पत्रकार तथा स्थानीय दिपक भुसालले धार्मिक तथा पर्यटकीय संभावना बोकेको बलेवाङ क्षेत्रको विकास र प्रचार प्रसारका लागि पनि शिविरले सहयोग पर्याउने विश्वास लिएको बताए । उनले विगतमा निकै पछाडी परेको यस क्षेत्रको सालझण्डी– ढोरपाटन सडकका कारण केहि विकास भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित