१२ मंसिर २०८३, शनिबार

कुरुप बन्दै लुम्बिनी प्रवेशद्वार

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, २८ भदौ । शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) अव्यवस्थित अटो ग्यारेजका कारण कुरुप बन्दै गएको छ ।

अव्यवस्थित अटो ग्यारेजका कारण अहिले भैरहवा लुम्बिनी सडक खण्ड कवाडको डङ्गुर भन्दा कम छैन । सडक खण्डको बुद्धचोक देखी विमानस्थल सम्मनै यसरी अटो ग्यारेजहरु खोलिएका छन् जसका कारण आउने दिनमा यस क्षेत्रको पर्यटनमानै असर गर्ने देखिएको छ ।

सन् २०२० जनवरी अर्थात अबको अढाई महिनामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तयार भएर संचालनको प्रक्रियमा हुनेछ भने नेपाल भ्रमण बर्षको शुभारम्भ पनि हुनेछ ।

लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल भ्रमण वर्ष सफलताको प्रमुख आधारको रुपमा हेरिएको छ । भैरहवा हुदै नेपाल आउने पर्यटकले सडक क्षेत्रमा अव्यवस्थित रुपमा अटो ग्यारेज देख्नुले शहर प्रतिनै नकारात्मक शन्देश प्रवाह गर्ने देखिन्छ ।

अटो ग्यारेज व्यवस्थापनको लागी प्रयाश नभएको भने होइन । बि सं २०७० साल साउन ८ गते सिद्धार्थनगर नगरपालिका र नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरबीच अटो भिलेज स्थापना गरेर नगरमा भएका अव्यवस्थित अटो ग्यारेजहरु ब्यवस्थित गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुरुप नगरका २ सय १५ अटो मेकानिक्स व्यवसायीले सिद्धार्थनगर नगरपालिका वडा नं ९ स्थित गोनहियामा सिदार्थ अटो भिलेजको लागि १२ बिगाहा जग्गा खरिद गरेपनि संचालनमा भने आउन सकेको छैन ।

सम्झौताअनुसार दुवै पक्षले कार्यान्वयन गर्ने गरि बुदा नं ४ मा सिद्धार्थनगर नगरपालिका भित्र अटोमेकानिक्स सम्बन्धी व्यवसाय गर्ने सम्पुर्ण व्यवसायीलाई अटो भिलेज वाहेक व्यवसाय गर्न नपाउने र बुदा नं ५ मा अटो भिलेज संचालनमा कुनै बाधा अवरोध वा समस्या उत्पन्न भए दुवै पक्षको सहमतीमा समाधान गर्ने र त्यसमा प्रथम पक्ष अर्थात नगरपालिकाले मद्दत गर्ने सहमती भएको छ ।

सिद्धार्थनगर नगरप्रमुख हरि प्रसाद अधिकारीकाअनुसार नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगर समितिले आफु मातहतका अटो ग्यारेजहरु लाई अटो भिलेज सम्म ल्याउन नसक्दा समस्या आएको बताए । अधिकारीकाअनुसार अटो ग्यारेजहरु आँफै अटो भिलेज सम्म नआए आफुहरुले केही गर्न नसक्ने जानकारी दिए ।

यता नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगर समितिका अध्यक्ष गुमान सिंह शारु मगरले नगरपालिकाले नितीगत निर्णय गरेर अटो भिलेज संचालनमा ल्याउनु पर्ने बताए । शारुकाअनुसार नगरपालिकाले चाहे अटो ग्यारेजहरु अटो भिलेज सम्म आउन कुनै समस्या हुने छैन ।

अटो भिलेजमा अहिले जग्गा खरिद गरेका अटो ग्यारेजहरु पनि संचालनमा आएका छैनन् । अटो ग्यारेज संचालककाअनुसार केही अटो ग्यारेजहरु अटो भिलेज जाने केही नजाने भयो भने आफ्नो व्यवसायमै असर गर्ने हुनाले नगरपालिकाले नितिगत निर्णय गरेर सबै अटो ग्यारेजहरु अटो भिलेजमा व्यवस्थित गर्नु पर्ने धारणा रहेको छ ।

यता केही अटो ग्यारेजहरुको जग्गा अटो भिलेजमा नरहेको कारण उनीहरुको व्यवसायमा असर हुने गरि निर्णय गर्न नमिल्ने नगरपालिकाको भनाई रहेको छ ।

नगरपालिका भन्छ “अटो भिलेजको जग्गा सबै व्यक्तिगत हो नगरपालिकाको जग्गा होइन त्यसैले सबै अटो ग्यारेजलाई त्यहा जान बाध्य गराउन मिल्दैन उनिहरुको व्यवसायमा असर पुग्छ रह्यो लुम्बिनी सडक खण्डको कुरा नगरपालिकाले त्यसलाई व्यवस्थित गराउन अन्य कदम चाल्ने छ ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगर समितीका अध्यक्ष गुमान सिंह शारु मगरका अनुशार आफुहरुले जग्गा नभएका अटो ग्यारेजहरु लाई अटो भिलेजमा आए जग्गा उपलब्ध गराउने बताए । शारु भन्छन् “जग्गा नभएका अटो ग्यारेजहरु अटो भिलेज सम्म आउन पर्यो समितीले जग्गा उपलब्ध गराउँछ ।”

अटो भिलेज कहिले सडक र कहिले ट्रान्सफर्मरको समस्या देखाउँदै संचालनमा आउन समस्या देखिएको थियो । अहिले दुई वटै समस्या हल भएपछि अटो ग्यारेजहरु भिलेज सम्म आउन आनकानी गरिरहेका छन् भने नगरपालिका पनि यस बिषयमा मौन बसेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको यस नगरमा रहेका अव्यवस्थित अटो ग्यारेजहरु व्यवस्थापनको लागी अटो भिलेज संचालनमा ल्याउनु अपरिहार्य देखिएको छ ।