६ कार्तिक २०८३, शुक्रबार

कार्यालय समयमा ट्रेड युनियनका सबै गतिविधिमाथि प्रतिबन्ध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदाै । सरकारले कार्यालय समयभित्र कर्मचारी सम्बद्ध ट्रेड युनियनले कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

कार्यालय समयमै विभिन्न गतिविधि गर्दा सेवाप्रवाहमा गम्भीर असर परेको विश्लेषण गर्दै कार्यालय समयभित्र कुनै पनि गतिविधि गर्न नपाउने प्रावधानसहितको नयाँ कानुनी व्यवस्था गर्न लागिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तावित निजामती सेवा विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था गरिए पनि ट्रेड युनियनले कार्यालय समयमा कुनै पनि गतिविधि गर्न नपाउने थप व्यवस्था गरिने बताए ।

‘ट्रेड युनियन रहन्छ तर सबै युनियनलाई कार्यालय समयमा सबै प्रकारका कार्यक्रम गर्न पूर्णतय निषेध गरिन्छ,’ निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पण्डितले भने ।

मन्त्री पण्डितले ट्रेड युनियनलाई सरुवा बढुवाजस्ता विषयमा ध्यान नदिन चेतावनी दिँदै जनताको काममा सरिक भएर लाग्न आग्रह गरे ।

‘ट्रेड युनियनको काम कर्मचारीको सरुवा बढुवामा हस्तक्षेप गर्ने होइन । त्यो सरकारका लागि सह्य हुँदैन,’ मन्त्री पण्डितले भने, ‘ट्रेड युनियनहरू प्रशासन सुधार, सेवा प्रवाह प्रभावकारी बनाउनेलगायतका नीतिगत विषयमा आवश्यक सुझाव लिएर सरकारसमक्ष आएमा जुनसुकै समयमा पनि ढोका खुला हुनेछ ।’

मन्त्री पण्डितले कर्मचारीबाट प्रवाह हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन नै ट्रेड युनियनलाई कानुनी रूपमै अनुशासित बनाउन लागिएको जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले प्रस्ताव गरी राज्यव्यवस्था समितिमा अन्तिम अवस्थामा रहेको संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था गरिए नि आचारसंहितामार्फत ट्रेड युनियनलाई कडाइ गर्न लागिएको हो ।