६ कार्तिक २०८३, शुक्रबार

ओलीले देलान् दाहाललाई एकल अधिकार ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदाै । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेबित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालुवाटार पुगे ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्ष ओलीलाई दिए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्त रूपमा गर्दै आएको पार्टी कामको जिम्मेवारी दाहाललाई सुम्पेका थिए । त्यही जिम्मेवारीअनुसार आफूले गरेका कामबारे उनले ओलीलाई सूचित गरे ।

अब पार्टी कामको एकल जिम्मेवारी दाहालले नै पाइरहन्छन् कि त्यसमा ओलीको पनि पूर्ववत् साझेदारी रहन्छ ? नेकपाका धेरै नेताहरू प्रधानमन्त्री ओलीले आगामी दिनमा चाल्ने कदमलाई चासोपूर्वक नियालिरहेका छन् ।

उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारतर्फ आफूले बढी ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालय बैठकमा राखेका थिए । अब यसको व्यावहारिक कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चासो सत्तारूढ वृत्तमा छ ।

‘पार्टीलाई समझदारीअनुसार सहज ढंगले अघि बढाउन आपसी आशंकाहरूलाई विश्वासमा बदल्नुपर्छ,’ नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘अध्यक्षहरूले आ–आफ्ना भूमिकालाई कार्य विभाजन गरेर अघि बढ्दा पार्टी र सरकारले गति लिने अवस्था हुन्छ ।’ गजुरेल र उनीजस्ता पूर्वमाओवादी नेताहरू ओलीले सरकारको नेतृत्व गर्दा पार्टीको कमान्ड दाहालले सम्हाल्न पाउनुपर्ने धारणा राख्छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७४ फागुन ७ मा एकता हुँदा नेतृत्व र सरकार आलोपालो चलाउने सहमति गरिएको थियो ।

उक्त सहमतिमा पार्टी बैठकहरूको आलोपालो अध्यक्षता गर्ने र एउटा अध्यक्षले आधा अवधि सरकारको नेतृत्व गरेपछि बाँकी कार्यकाल अर्कोलाई हस्तान्तरण गर्ने भन्ने थियो ।

तर विगत १५ महिनाको अवधिमा सचिवालय, स्थायी समितिका बैठक संयुक्त रूपमा दुई अध्यक्षले चलाए, आलोपालो भएन ।