शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

पवन कल्याणको पारिश्रमिक १८ करोड भारू

दैनिक नेपाल २०७६ भदौ १९ गते १०:३०

मुम्बई । भारतको तेलेगु फिल्मका सुपरस्टार पवन कल्याण ४८ वर्षमा प्रवेश गरेका छन् । पवन कल्याण ती अभिनेतामा पर्छन् जो फिल्मको अभिनयपछि राजनीतिमा प्रवेश गरेका छन् । उनले आफ्ने पार्टीसमेत बनाएका छन् ।

फिल्ममा २३ वर्ष लामो करियर बिताइसकेका पवनले यी वर्षमा २३ सिनेमा नै गरेका छन् । उनी तेलेगु फिल्मका महँगा कलाकारसमेत हुन् । उनले प्रतिफिल्म १८ करोड भारू पारिश्रमिक लिने गर्छन् ।

निर्देशनमा रूचि भएका पवनलाई भाउजू सुरेखा (अभिनेता चिरञ्जीवीकी पत्नी)ले कर गरेर अभिनयमा प्रवेश गराएकी थिइन् । आफ्नो देवर गतिलो कलाकार बन्न सक्छन् भन्ने सुरेखाको विश्वासले नै उनी सफल सुपरस्टार बनेका हुन् । सेप्टेम्बर २ सन् १९७१ मा जन्मिएका पवनको परिचय बहुआयामिक व्यक्तित्वको रहेको छ ।

गत लोकसभा चुनावमा उनले दिएको बयानका कारण उनी विवादित समेत बनेका थिए । त्यतिबेला उनले फिल्म हलमा राष्ट्रिय गानमा उठ्न मन नलाग्ने बताएका थिए । त्यसपछि उनी ट्रोलका सिकार भए । सामाजिक संजालमा यहाँसम्म भयो की मानिसहरूले उनको देशभक्तिमा समेत प्रश्न उठाए ।

पवन कल्याणको वास्तविक नाम कोनिचेला कल्याण बाबु हो । उनले आफ्नो अभिनय यात्रा सन् १९९६ मा तेलेगु फिल्म ‘अक्कडा अम्माई इक्कडा अभ्भई’बाट सुरू गरेका हुन् ।

पवनका ‘खुसी’, ‘गब्बर सिंह’, ‘अट्टरिन्की दारेडी’ तथा ‘अज्ञनत्यवासी’ फिल्म आफ्नो समयमा सर्वाधिक व्यापार गर्ने फिल्म हुन् । उनको रूचि फिल्म निर्देशनमा थियो । भाउजु सुरेखाले जबरजस्ती अभिनयमा लाग्न बाध्य पारेकी थिइन् ।

उनलाई पढ्न र खेतीपातीमा रूचि छ । फुर्सदमा उनी कि किताब पढ्छन् या त आफ्नो कृषि फार्ममा काम गर्छन् । बच्चैदेखिको उनको रुचि कृषिमा थियो । कल्याण शाकाहारी हुन् ।

उनी करातेमा ब्ल्याकबेल्ट लिएका छन् । आफैले आयोजना गरेको कराते कार्यक्रममा प्रस्तुति दिएपछि उनले आफ्नो नाम पवन राखेका हुन् । पवन कल्याण अलराउण्डर हुन् । उनी अभिनेताका साथमा निर्देशक, कोरियोग्राफर, गायक, स्क्रिप्ट लेखक एवं राजनीतिज्ञ समेत हुन् ।

गुगल सर्चका अनुसार लोकसभा चुनाव २०१४ मा उनी सर्वाधिक गुगल गरिएका भारतीय अभिनेता थिए । उनको हालसम्म तीन पटक विवाह भइसकेको छ । पहिलो पत्नी नन्दिनी हुन् ।

रेनु देशाईसँग उनकी दोश्री पत्नी हुन् । विवाहअघि रेनु पवनकी ड्रेस डिजाइनर थिइन् । रेनुबाट एक छोरा र छोरी छन् । उनी हाल एना लेजनेभासँग वैवाहिक जीवन बिताइरहेका छन् । पवन कम्युनिस्ट नेता चे ग्वेभाराका ठूला प्रशसंक हुन् ।

प्रतिक्रिया
सम्बन्धित