
काठमाडौँ, १७ भदौ । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ ।
संसदीय समितिका सभापतिहरूले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानबिन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको हो ।
संघीय संसदका विभिन्न समितिका सभापतिका लागि खरिद गरिएको ११ वटा गाडीमध्ये सबैमा कुनै न कुनै समस्या देखिएको छानबिन समिति संयोजक रामनारायण विडारीले बताएका छन् ।
सामान्य प्राविधिक त्रुटी भेटिएका गाडी एक हप्ताभित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका ३ वटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन पनि संसद सचिवालयलाई निर्देशन दिइएको संयोजक बिडारीले बताए ।
समितिले प्राविधिक इन्जिनियर, सार्वजनिक खरिद अनुगमन कार्यालयका विशेषज्ञ र आपूर्तिकर्तासँग छलफल गरी प्रतिवेदन तयार पारेको हो ।
छानबिन समितिले कामै नलाग्ने गाडी फिर्ता नलिए सम्बन्धित आपूर्तिकर्तालाई कानुन बमोजिम कार्वाही गर्न पनि सिफारिस गरेको छ।
छानबिन समितिले प्राविधिकहरू, सार्वजनिक खरिद ऐन र गाडी कम्पनीसँग सोधपुछ गरी तयार पारेको प्रतिवेदनमा सबै गाडीको पार्टसहरू मिलाएर नराखिएको पाइएको पनि जनाएको छ।
छानबिन समितिको प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले त्यसको अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।
संघीय संसद सचिवालयले संसदीय समितिका सभापतिहरूको प्रयोजनको लागि खरिद गरिएका गाडीमा समस्या आएपछि छानबिनका लागि सांसद बिडारी संयोजक तथा सांसदहरू तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल सदस्य रहेका छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिले गाडी खरिद प्रक्रिया भने कानुनसम्मत रहेको पनि उल्लेख गरिएको छ।











प्रतिक्रिया