काठमाडौं, १७ भदाै । नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहले भारतबाट पनि नेपाली बैंकको एटीएम प्रयोग गरी रकम निकालेको तथ्य बाहिरिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।
युरोपमा बसेर नेपाली बैंकको स्विफ्ट कोड चोरी नेपालमा रहेका ती चिनियाँ नागरिकलाई पैसा निकाल्न निर्देशन दिने गिरोहले नै भारतबाट नेपाली एटीएम प्रयोग गरेर रकम निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
सो घटनाको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार नेपालका बैंकबाट रकम निकाल्ने गिरोहले नै भारतीय बैंकबाट नेपाली बैंक एभरेष्ट र माछापुच्छ्रे बैंकको एटीएम प्रयोग गरी १ करोड नेपाली रुपियाँ निकालेको फेला परेको हो ।
अधिकांश नेपाली वाणिज्य बैंकका एटीएम भारतीय बैंक तथा एटीएम मेसिनमा प्रयोग गर्न सक्ने भएपछि गिरोहले नेपाली एटीएम प्रयोग गरेर पैसा निकालेको फेला पारेपछि अहिले भारतीय पक्षसँग पनि कुरा गरिरहेको डीएसपी बोगटीले जानकारी दिनुभयो ।
भारत र नेपालबाट अवैधरूपमा निकालिएको रकम व्यक्तिको नभएर बैंकको भएको बैंकर एसोसिएसनले बताए पनि त्यसरी निकालिएको रकम व्यक्तिको समेत रहेको दाबी प्रहरीले गरेको छ ।
उक्त घटनामा चिनियाँ नागरिकको नेपाल आवागमनका बारेमा अनुसन्धान गर्ने क्रममा उनीहरूले पैसा नेपालमा निकाले पनि योजना भने युरोपेली मुलुक स्पेनमा बसेर बनाएको प्रहरीले खुलासा गरेको छ।















प्रतिक्रिया