१३ मंसिर २०८३, आइतबार

चिनियाँहरुले एटीएम बुथबाट पैसा लुटेपछि राष्ट्र बैंकमा आकस्मिक बैठक

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ ।  बैंकिङ सिस्टम ह्याक गरेर चिनियाँहरुले एटीएम बुथबाट पैसा लुटेपछि राष्ट्र बैंकमा आकस्मिक बैठक बसेको छ ।

राष्ट्र बैंकमा नेप्स, सम्बन्धित बैंकका अधिकारीहरु छलफलमा छन् । के कति रकम लुटिएको हो र सुरक्षित उपाय के हुनसक्छ भनेर छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा ६ वटा बैंकबाट पैसा झिकिएको फेला परेको छ । यसमध्ये २ वटा बैंकको प्रणाली नै ह्याक गरिएको प्रहरीले जनाएको छ।

केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १७ वटा बैंकहरु आवद्ध छन् । यसमा ११ बैंकको लगानी छ ।

यसले भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटीएम र पस मेसिन सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा दिँदै आएको छ।

चिनियाँ नागरिकहरुले चीनबाट नै नेपालमा रहेका एटीएम बुथबाट रकम लुट्ने योजनाका साथ उनीहरु नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

शुक्रबार उनीहरु पर्यटन भिषामा नेपाल प्रवेश गरेका थिए । पाँच जनाको समूहमा आएका उनीहरुले जय नेपाल हल नजिकै रहेको माया मनोर होटेल बुक गराएका थिए । होटेलको तीनवटा कोठा बुक गराएर शुक्रबार देखि त्यहीँ बसेका थिए।

काठमाडौँ झरेको २४ घण्टामै उनीहरुले योजना अनुसार रकम झिक्न सुरु गरेका थिए । प्रहरीले अहिलेसम्म एक करोड ३६ लाख रुपैयाँ ह्याकरबाट बरामद गरिसकेको छ । बैंकहरुले भने करिब पाँच करोड रकम झिकिएको दाबी गरेका छन् ।

शनिबार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएका थिए । सूचना पाएपछि प्रहरीले कारबाही थालेको थियो ।

केही समयको निगरानीपछि दरबारमार्गमा रहेको नबिल बैंकको एटिएमबाट एक चिनियाँ नागरिकले झोलामा पैसा लिएर गएको भेटिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिलाई पिछा गर्दै गएपछि होटेल माया मनोरमा पुगेको थियो ।

शुक्रबार नेपाल आएका उनीहरुले एटीएम बुथबाट निकालेको पैसा झोला र ब्रिफकेसमा राखेर होटेलको कोठामा पुर्‍याउने गरेको देखिएको छ ।उनीहरु रकम लुटेर आइतबार र सोमबार नै चीन फर्किने तयारीमा रहेको अनुसन्धानमा खुलेको छ।