काठमाडौं, १३ भदौ । नेपाल टेलिकम देशभर अत्याधुनिक दूरसञ्चार सेवाहरू सर्वसुलभ र सस्तो दररेटमा उपलब्ध गराउँदै देश विकासमा महत्त्वपूर्ण योगदान गर्न तथा आफ्नो व्यावसायिक स्वास्थ्य सुदृढ गरी सरकारी कोषमा उल्लेख्य योगदान समेत गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ ।
हाल कम्पनीका विभिन्न सेवाहरूमा गरी करीब २ करोड २६ लाखको ग्राहक आधार रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
दूरसञ्चार क्षेत्रका लगभग सम्पूर्ण सेवाहरू प्रदान गरिरहेको यस कम्पनीले उक्त सेवाहरूको आधुनीकिकरण तथा अल्पकालीन एवम् दीर्घकालीन विकास र विस्तारमा उल्लेख्य रूपमा काम गर्दै आएको जनाएको छ ।
मोबाइल तर्फ फोरजी सेवा तथा तारसहित सेवातर्फ एफटिटिएच सेवाको विस्तारमा पनि कम्पनी प्राथमिकताका साथ काम गरिरहेको छ ।
कम्पनीको आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणहरूमा कम्पनीका प्रमुख वित्तीय सूचकाङ्कहरूको अवस्थालाई प्रष्ट्याउन आवश्यक देखिएको भन्दै कम्पनीको स्थानीय टेलिफोन सेवाको राजस्वमा कमी आउनुमा उक्त सेवाबाट वायरलेस सेवामा ग्राहक रुपान्तरण हुने क्रम बढेकोले तारसहित सेवाको प्रयोगमा कमी आउनु प्रमुख कारण रहेको जनाइएको छ ।
तारसहितको ब्रोडव्याण्ड सेवा तर्फ एडिएसएल सेवाको रूपान्तरण गरी एफटिटिएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएकोले आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा गरिएको छ ।
नयाँ विस्तार हुने एफटिटिएच सेवामा परम्परागत टेलिफोन सेवाको साथसाथै इन्टरनेट एवम् टेलिभिजन सेवा पनि आइपि प्रविधि मार्फत प्रदान गरिने योजना रहेको हुँदा सोको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधिकरण तथा वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।
‘उक्त अवधिमा कम्पनीको मुनाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नविकरण बापत दोस्रो अवधि (२०७१–२०७६ सम्म) को दस्तुर रकम रू २० अर्ब मध्ये पहिलो किस्ताको रू ४ अर्बको खर्च तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनुको पनि अहम् भूमिका रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया