४ कार्तिक २०८३, बुधबार

मुम्बइमा सडकबाट आएकी रानु भइन गायिका

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । बलिउडमा सामाजिक सञ्जालमा एक जना भारतीय महिलाको भिडिओ भाइरल भएको छ । रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाएकी ती महिलाको भिडिओ हेरेर तारिफ नगर्ने सायदै कोही थिए ।

भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा ‘एक प्यारका नग्मा है’ गाउने महिला हुन् रानु मोन्डल। उनी यसरी गाएरै आफ्नो पेट पाल्दै आएकी थिइन् ।

एक दिन उनको स्वर सामाजिक सञ्जालमा गुञ्जियो। मिठो स्वर भएकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने। रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन्। उनलाई ‘रानाघाटकी लता मंगेशकर’ पनि भन्न थालिएको छ ।

उनको भिडिओ र स्वर दुवै हिट भएको केही दिनपछि उनको खोजी हुन थाल्यो। कसैले उनलाई भेट्यो र बाटामा बस्दै आएकी रानुको साफसफाइ र श्रृंगार भयो। उनको स्वरझैं सुन्दरता पनि निखारियो। सामाजिक सञ्जालले उनलाई खुबै शुभकामना दिए।

आफ्नो स्वरको जादूले रानुले धेरैको मन जितिसकेकी थिइन्। तर उनको कमाल यतिमै सीमित भएन। रानु टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’मा देखिइन्। कार्यक्रममा सहभागी केटाकेटी भेटिन्। यहीँ उनको जीवनमा नयाँ मोड दिने व्यक्ति पनि थिए– गायक तथा संगीतकार हिमेश रेशमिया।

कार्यक्रमको निर्णायकका रूपमा रहेका हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएको बताए। उनको स्वरको तारिफ गर्दै उनलाई ‘काम दिने’ बताएका थिए। र, हिमेशले आफ्नो बोली पूरा गरेका छन्।

सार्वजनिक एक भिडिओमा रानु स्टुडियोमा गीत रेकर्ड गराउँदै गरेकी देखिन्छिन्। उनीसँग हिमेश पनि छन्। हिमेशले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’का लागि रानुलाई गीत गाउने अवसर दिएका हुन् ।