
काठमाडौँ, ५ भदौ । लागूऔषध नियन्त्रण व्यूरोको टोलीले लागूऔषध ‘कोकिन’ सहित एकजना आइभोरीकोष्टका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कतार एयरवेजको उडानद्वारा दोहाबाट काठमाडौं आउँदै गरेका मारसेल गुली छन् ।
व्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको अगाडिबाट पक्राउ परेका मारसेलको साथबाट एक किलो ६ सय ग्राम कोकिन बरामद गरेको छ ।
प्रहरीका अनुसार नाइजेरियाको लागोस हुँदै कतारको दोहा र दोहा हुँदै काठमाडौं आएका मारसेलले बसबाट नयाँ दिल्लीमा कोकिन पुर्याउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनले निलो रङको सुटकेशमा फल्सबटम बनाई तल माथि प्लाइउड राखी भित्र कागजको पाता बनाएर कोकिन लुकाएको पाइएको थियो । बरामद भएको कोकिनको मूल्य अन्तराष्ट्रिय बजारमा ५ करोड बढी भएको व्युरोका एक अधिकारीले बताए ।
कोकिन बोकेर नाइजेरियाको लागोसबाट २० अगस्टमा उनी कतारको राजधानी दोहा आएका थिए। दोहाबाट २१ अगस्ट अर्थात् हिजो बुधबार काठमाडौं आएका गुली नेपाल प्रहरीको फन्दामा परेका हुन् ।
प्रहरीले लामो समयदेखिको अनुसन्धान, विश्लेषण र सूचना अनुसार कोकिन बोकेर मार्सेल गुली नेपाल आउँदै गरेको भन्ने खबर पाएको थियो। सोही अनुसार ब्युरोको टोली सादा पोसाकमा विमानस्थलमा गुलीलाई कुरेर बसेको थियो।
एक्स–रे मेसिन पार गरेर बाहिन आउनसाथ उनी ब्युरोको टोलीको नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका गुलीले नाइजेरियाबाटै कालिमाटीस्थित सोल्टी होटलमा कोठा बुक गरेको पाइएको छ ।
बरामद गरिएको उनको पासपोर्टमा सेम्टेम्बर २ सम्म नेपालको भिसा रहेको पाइएको छ । यति लामो समयसम्म उनी नेपाल नै बसे पनि सोल्टी होटलमा बस्न सक्ने व्यक्ति हुन् भन्नेमा प्रहरीले शंका गरेको छ ।











प्रतिक्रिया