आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

लोकदोहोरीकी ‘सोझी’ करिष्मा

क्षितिज समर्पण २०७६ भदौ ४ गते १४:५४

-क्षितिज समर्पण/दैनिक नेपाल

काठमाडौँ । ‘तिम्रो सपना के छ ?’ भनेर कसैले साना बालबालिकालाई सोध्यो भने, ‘डाक्टर, पाइलट, इञ्जिनियर, वकिल, शिक्षक…आदि, इत्यादि’ जवाफ आउँछ ।

सपना देख्ने उमेर नहुँदै उनीहरुलाई अनेक सपनाको भारी बोकाइन्छ । सायद, त्यही भएर पनि उनीहरु यस्ता जवाफ दिदाहुन् । भलै, यी जवाफ दिनेमध्ये थोरैको मात्र जीवनमा चरितार्थ हुन्छन् सपनाहरु ।

र, कमैले देख्छन् गायक/गायिका बन्ने सपना ।

यसैमध्येकी एक हुन्, सुर्खेत बोटेचौरकी करिष्मा घर्ती मगर । उनी आफैलाई थाहा छैन, कहिलेदेखि पलायो गायिका बन्ने सपना ? तर, झण्डै दुई दशकदेखि उनी लोकदोहोरीको क्षेत्रमा क्रियाशील छिन् ।

‘अनि, सपना पुरा भयो त ?’

उनी भन्छिन् – ‘कहाँ पूरा हुनु ! सपनाको बाटो धेरै लामो हुँदोरहेछ तर, एकदिन कसो पूरा नहोला ।’

हुन त अहिले एक/दुईवटा गीत गाएर पनि आफूलाई गायक/गायिका भनेर चिनाउनेहरु धेरै छन् । ‘फुर्ति लगाउने’हरु धेरै छन् । तर, एक सय हाराहारीमा गीत गाइसक्दा पनि करिष्मा आफूलाई गायिका भन्न रुचाउँदिनन् । भन्छिन्–म त एउटा साधक हुँ, निरन्तर साधना गरिरहेकी छु ।’
ooo

थाहा छैन उनमा कहिलेदेखि गीतको भूत सवार भयो । करिष्मा सानै हुँदा गीत गुनगुनाउँथिन् । गाउँघरमा हुने विभिन्न प्रतियोगिताहरुमा भाग लिन्थिन् । र, पुरस्कार जितेर आउँथिन् ।

तर, उनका बाबुले निकै गाली गर्थे । छोरी मान्छे ‘बाहिर’ जानुहुन्न भन्ने समाजमा हुर्किएकी उनलाई संकिर्ण सामाजिक सोचको संघार नाघ्न धेरै समय लाग्यो ।

स्थानीय शिक्षक अमर विकले दिएको हौसला उनी जीवनभर बिर्सिने छैनन् । ‘सायद, अमर सर नभएको भए म अहिले यो ठाउँमा हुने थिइनँ होला’, अमरप्रति कृतज्ञ हुन्छिन् करिष्मा ।

अमर सरले, ‘तिमीले केही गर्नुपर्छ, बाहिर निस्किनुपर्छ, काठमाडौँ गएर गीत गाउनुपर्छ, ठूली मान्छे बन्नुपर्छ भनेको’, करिष्मा अहिले पनि सम्झिरहन्छिन् ।

तर, घरबाट बाहिर निस्किन उनलाई आफ्नो घरभन्दा पारी देखिने अग्लो पहाड उक्लिनुभन्दा कठीन थियो । बरु घरभन्दा अलि तल बग्ने भेरी नदी सजिलै तर्न सक्छु भन्ने लाग्थ्यो उनलाई तर, घरको संघार तर्न ठूलै आँट चाहिन्थ्यो । र, चाहियो पनि ।

२०६१ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतले आयोजना गरेको दोहोरी प्रतियोगितामा उनी उत्कृष्ट गायिका बनिन् । त्यसपछि झन् उनीभित्र गीतहरुले भाका थप्न थाले, गायिका बन्ने रहरले पखेटा हाल्न थाल्यो ।

यही रहरले भुर्र उडाएर उनलाई नेपालगञ्ज झार्यो । कमल विके निर्माेहीले नेपालगञ्जमा स्टुडियो चलाउँथे । एल्बम रेकर्ड गर्न काठमाडौँ आउन नसक्नेहरुका लागि राम्रो ‘प्लेटफर्म’ त बन्यो नै धेरै गायक/गायिका जन्माउने ‘कारखना’ पनि बन्यो ।

त्यही स्टुडियोमा निर्माेहीले करिष्मालाई राम्रो साथ र अवसर दिए । त्यहाँ करिष्माले झण्डै तीन दर्जन गीतमा आवाज भरिन् । सुर्खेत, बाँके र बर्दियामा हुने प्रतियोगिताहरुमा सहभागी हुन् थालिन् । तीज कार्यक्रममा भाग लिन थालिन् ।

जहाँ भाग लिन्थिन् उत्कृष्ट भएरै आउँथिन् । भित्र कतैबाट मनले उनलाई सुटुक्क भन्थ्यो – तँ गायिका भइसकिस् !

उनी मख्ख पर्थिन् ।

०६१ मा नेपालगञ्ज झरेकी करिष्मालाई काठमाडौँ आउन भने समय लाग्यो । उनले २०६६ सालमा काठमाडौँमा पाइला टेकिन् । सुर्खेतका देवराज गिरी र रत्न विकले काठमाडौमा ओत मात्र दिएनन् ‘जागिर’ पनि मिलाइदिए ।

करिष्माले बानेश्वरस्थित ससुराली दोहोरी साँझमा काम थालिन् ।

तर, केही महिना काम गरेकी उनले अर्घाखाँचीका विष्णु थापा मगरसँग बिहे गर्नि । बिहे लगत्तै छोरी जन्मिइन् । गृहस्थी जीवनमा व्यस्त हुनु परेपछि करिष्मा ६ वर्षसम्म लोक गीतको क्षेत्रमा कतै देखिइनन् ।

तर, उनीभित्रको संगीत र गीतको मोह जीवितै थियो । र, ६ वर्षपछि कमब्याक भइन् । उनका ‘हो नि तिम्रै कसम’, ‘सम्झ्यौ कि आमाले’, ‘साडी हङकङको’ लगायतका थुपै्र गीत चर्चित छन् । यो वर्षको तीज गीत ‘बुहारी–२’ मा पनि करिष्माले आवाज भरेकी छन् । जुन गीत केहीदिन अघिसम्म यूट्यूबको ट्रेन्डइङ १ मा थियो ।

आयोजकले सोध्छन् : बिहे भा’छ  कि नाइँ ?

करिष्मा अहिलेसम्म विदेशका कुनै कार्यक्रममा गएकी छैनन् । भारतका विभिन्न सहरमा हुने सांगीतिक कार्यक्रममा भने उनले प्रस्तुती दिइसकेकी छन् । स्वदेशका विभिन्न जिल्ला पुगिसकेकी छन् ।

तर, बारम्बार आउने उही प्रश्नले भने उनलाई घोचिरहन्छन् । जब, कुनै ठाउँमा कार्यक्रमका लागि कुरा हुन्छ, आयोजकहरु सोध्छन् : ‘बिहे भएको छ कि छैन ? राम्री छ कि छैन ?’

उनी आफू विवाहित भएको कुरा निर्धक्क भन्छिन् । आयोजकहरु विस्तारै टाढा हुन्छन् । र, कार्यक्रममा बोलाउँदैनन् ।

उनलाई ‘दायाँबायाँ गर्नु’ छैन । कसैका ‘अनावश्यक’ प्रस्ताव स्वीकार गरेर कार्यक्रममा जानु पनि छैन । बस्, आफ्ना गीत मन पराउने र आफ्नो क्षमताको विश्वास गर्नेहरुले बोलाइदिउन्, उनलाई त्यति भए पुग्छ ।

उनलाई अहिलेजस्तै ‘सोझी’ भइरहनुछ । ‘म सोझी र ईमान्दार भएकैले माथि जान सकिन की भन्ने पनि लाग्छ’, करिष्मा भन्छिन्, ‘तर, मलाई दायाँबायाँ गर्नु छैन ।’

‘यो क्षेत्रमा विकृति छन् भन्छन्, सायद यी कुराले गर्दा होला’, उनी थप्छिन्, ‘कहिलेकाहीँ त दिक्क लाग्छ !’

लोकगीतको बजार पहिले जस्तो छैन । एल्बमहरु विक्रि हुन छोडे । दुई/तीन लाख खर्च गरेर गीत निकाल्यो, यूट्यूबमा राख्यो । लगानी उठाउने त परको कुरा कुनै गीतले पानी समेत पिउन पाउँदैनन् ।

गीतको लगानीमा निकै जोखिम रहेको उनी स्वीकार्छिन् ।

समयलाई चिन्न सकेको भए…

करिष्मालाई लाग्छ, अहिले समय धेरै बितिसक्यो । छोरी झोला बोकेर स्कुल जाने भइसकिन् । हेर्दाहेर्दै समय कसरी जाँदोरहेछ छोरीलाई हेरेर घोत्लिन्छिन् ।

कुनैबेला घरबाट निस्किन निकै गाह्रो थियो उनलाई । उनी सानै हुँदा आमा परलोक भइसकेकी थिइन् । बुुबाले आमाकी बहिनीलाई (साली) भित्र्याए । कडा स्वाभावका उनी छोरीहरु घरबाहिर जानु हुँदैन भन्ने मान्यतामा अडिग थिए ।

अहिले समय केही बद्लियो । उतिबेला भन्दा अहिले सहज लाग्छ करिष्मालाई । उतिबेला कसैकी छोरी मात्र थिइन्, अहिले त आमा, श्रीमती र बुहारी हुन् । तरपनि, जीवन अहिलेकै सहज लाग्छ । गीतसंगीतमा लाग्न श्रीमानको भरपुर सहयोग छ ।

‘यस्तै साथ र सहयोग उतिबेलै पाएको भए..’, चुकचुकाउँछिन् उनी ।

यति मात्र होइन उनी स्टेजमा चढेर गीत गाउँदा दर्शकदीर्घामा बसेर हेर्नेहरु अहिले ‘चर्चित’ गायक÷गायिका भइसके । बीचमा पारिवारिक जीवनमा नरुमल्लिएको भए आफू पनि माथि पुगिन्थ्यो कि भन्ने नलागेको होइन् ।

समयलाई चिन्न सकिएन की भन्ने नलागेको पनि होइन । फेरि अर्काे मनले सोच्छिन् – ‘चर्चित’ त हुन्थेँ होला तर, अहिलेजस्तो सुन्दर परिवार र आफूलाई बुझ्ने मान्छे पाइन्नथ्यो कि !

जे होस् उनको मन बुझिरहेकै छ । यात्रा चलिरहेकै छ ।

प्रतिक्रिया
सम्बन्धित