१२ मंसिर २०८३, शनिबार

संविधान राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज : प्रधानमन्त्री ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् ।

संविधान दिवस÷राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र बलिदानको महत्वपूर्ण देन रहेको उल्लेख समेत गरे ।

‘जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौँ । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।’

प्रधानमन्त्री ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताए । ‘संविधान सहमतिको दस्तावेज हो । यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पुुरा गर्दैन तर बृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।’

प्रधानमन्त्री ओलीले संविधान दिवस नेपाली जनताको उत्सवको दिवस भएकोले यसलाई राष्ट्रिय दिवसको रुपमा समेत मनाइएको बताए । ‘संविधान दिवसलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘यो नेपालका सबै दिवस भन्दा ठूलो दिवस हो । यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रुपमा मनाउनु पर्दछ । घरघरमा दिपावली मनाउनु पर्दछ ।’

संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएकोे नेपालको संविधानले नेपाल र नेपालीको गौरवपूर्ण परम्परा, वर्तमान नेपालको अवस्था र भावी नेपालको मार्गदिशा तय गरेको प्रधानमन्त्री ओलीले बताए ।