१२ मंसिर २०८३, शनिबार

पीयू सेवा आयोगका अध्यक्षको हर्कत : प्राध्यापक लागि होटलमा अन्तर्वार्ता !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठ (मालामा)

काठमाडौँ, ३ भदौ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले विश्वविद्यालयबाट बिदाई भएपछि प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि परीक्षा लिएकाे खुलासा भएको छ ।

श्रेष्ठको ४ वर्षे कार्यकाल भदौ ५ गते बिहीबार सकिँदैछ । विश्वविद्यालयबाट बिदाई भएपछि काठमाडौं पुगेका श्रेष्ठले कार्यकाल सकिन तीनदिन बाँकी रहेको अवस्थामा सोमबार प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा परीक्षा सञ्चालन गरेका हुन् ।

विश्वविद्यालय सेवा आयोगले खुलाएको विज्ञापनमा प्राध्यापकतर्फ प्राडा जीवन ढकाल र सहप्राध्यापकतर्फ शैलेन्द्र शिवाकोटीको नाम अन्तर्वार्ताका लागि छनोट भएको थियो ।

सोमबार दुईजनालाई काठमाडौंको होटल एम्बेस्टरमा अन्तर्वार्ता लिइएको हो । पूर्वाञ्चल विश्वविद्यालय स्रोतका अनुसार अन्तर्वार्ता भएपनि विश्वविद्यालयलाई जानकारी गराइएकाे छैन ।

विश्वविद्यालयले २०७४ साल चैत ९ गते १ जना प्राध्यापक, तीन विषयगत सहप्राध्यापक र पाँच उपप्राध्यापकसहित विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको थियो । तर, विद्यार्थी नभएकाे विषयमा पनि विज्ञापन गरिएपछि विवाद सुरू भएकाे थियाे । विवादकै क्रममा व्यवस्थापनतर्फको प्राध्यापकमा जीवन ढकाल र व्यवस्थापन तर्फको सहप्राध्यापकमा शैलेन्द्र शिवाकोटीको नाम मात्र अन्तर्वार्ताका लागि छनोट भएको थियो ।

छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै चार विद्यार्थी संगठनले विश्वविद्यालय सेवा आयोगको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । पटक-पटक अन्तर्वार्ताको समय तोकिएपनि विद्यार्थी संगठनहरूको अवरोधका कारण आयोगले अन्तर्वार्ता गरेको थिएन । तर, आयोगका अध्यक्ष श्रेष्ठले विश्वविद्यालयबाट औपचारिक रूपमा बिदाई हुन तीन दिनअघि सोमबार होटलमा अन्तर्वार्ता लिएका हुन् । साउन अन्तिम साता उनी विश्वविद्यालयबाट विदा भएका थिए ।

परीक्षाका लागि लाजिम्पाटस्थित होटल एम्बेस्टर पुगेका शिवाकोटी र ढकाल सोमबार नै विराटनगर फर्किएका थिए । विश्वविद्यालय सेवा आयोगका सदस्य महेन्द्र यादवका अनुसार अन्तर्वार्तामा विज्ञको रूपमा प्राडा कमल ढकाल, प्राडा पृथ्वीविक्रम राई र प्राडा पुस्कर बज्राचार्यलाई बोलाइएको थियो । अन्तर्वार्तालाई गोप्य राख्न होटलको बिल पनि सेवा आयोग अध्यक्ष श्रेष्ठको नाममा काटिएको होटल स्रोतले जानकारी दिएको छ ।

विद्यार्थी संगठनहरूले होटलमा गरिएको अन्तर्वार्ताका आधारमा नियुक्ति पाएका प्राध्यापक र सहप्राध्यापकलाई विश्वविद्यालयमा हाजिरी गर्न नदिने चेतावनी दिएका छन् ।