१२ मंसिर २०८३, शनिबार

रसुवागढी भन्सार कार्यालय जोड्ने पुल बाढीले बगायो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २ भदौ । रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदिमा निर्मित रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत आयोजना जोड्ने पुल बाढीले बगाएको छ ।

पुल बगाएपछि नदि किनारका बस्तीमा त्रास फैलिएको छ । बाढीले नेपालतर्फ पुल तथा रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।भन्सार याड नजिकको बस्ती तत्कालै प्रहरी परितालन गरी सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

बाढीको बहाव बढ्दै भएपछि त्रिशुली नदि किनारका वस्तीहरुमा सुरक्षा निकायले बिशेष सर्तकर्ता अपनाउन अपिल गरेको छ ।

खाल्टे क्याम्पमा पुगेकी उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले गाउँपालिका कार्यालय नजिकैको क्यान्टिन नजिकै बाढी आउन लागेको देखेपछि नजिकैको खाल्टे क्याम्पमा रहेको वस्ती राति नै सुरक्षित ठाउँमा पठाएको बताइन् ।

खाल्टेमा भूकम्पबाट विस्थापित २ सय ५९ परिवार बस्दै आएका छन् । बेत्रावती, नौबिसे, खाल्टे, पैरेबेशी, मैलुङ्गलगायतका वस्तीमा सर्तक रहन सुरक्षा निकायले अनुरोध गरेपछि रातभर जागै बसेको स्थानीय शिक्षक गणेश श्रेष्ठले बताए ।

आयोजना नजिकैको पुल १, रसुवागढी जलविद्युत आयोजनाले निर्माण गरी टिमुरेबासीले प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन गर्ने जलाउने घर (ईन्सिनिनेटर), दुइवटा ड्याम र रसुवागढी पेनस्टक पाईप २ थान बगाएको रसुवागढी जलविद्युत आयोजना प्रमुख छवि गैरेले जानकारी दिए ।

रसुवागढी जलविद्युत आयोजनाको हेडवर्क्स, पेनस्टक पाइप, कफर ड्यामलगायत संरचना बगाएको छ ।

चीनको सीमा नजिक निर्माणाधीन १ सय ११ मेगावाटको आयोजनाले पटक–पटक प्रकृतिक विपद् झेल्दै आएको छ । दुई वर्षअघि पनि नदीमा ठूलो बाढी आउँदा बाँधस्थलमा ठूलो क्षति पुगेको थियो ।

यस्तै, २०७२ सालको भूकम्पबाट पनि आयोजना नराम्रोसँग थलिएको थियो । आयोजनाबाट सन् २०१९ को डिसेम्बरभित्र विद्युत उत्पादनको लक्ष्य राखिएको छ । तर, विभिन्न समयमा आउने प्राकृतिक विपदले आयोजनाबाट विद्युत उत्पादन हुने अवधि धकेलिँदै गएको छ ।