१४ कार्तिक २०८३, शनिबार

क्यानडा पठाउने नाममा ठगी धन्दा : छोराछोरीलाई शुद्ध मह, आफूलाई दुई लाख !

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-रामकुमार शाही/दैनिक नेपाल

काठमाडौँ, ३१ साउन । क्यानडा पठाउने बहानामा विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाको सादा पोशाकको संयुक्त टोलीले  महेशजंग थापा भन्ने राम बहादुर खड्कालाई पक्राउ गरेको हो ।

पक्राउ परेसँगै उनको ठगी धन्दा सतहमा आएको छ ।

मोरङ उर्लाबारी नगरपालिका- ७ का ३५ वर्षे खड्कालाई काँकरभिट्टा बजारबाट लुकीछिपी बसिरहेको गोप्य सूचनाका आधारमा गएको १९ गते पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।

खड्काले महेशजंग थापा, विश्वजीत थापा, आरभ थापा, उज्जवल थापा, प्रवीण थापा नामबाट फेसबुक आइडी बनाएर ठगी गर्ने गरेको खुलेको छ । ईलाम घर बताउने उनले फेसबुक मेसेन्जरबाट वैदेशिक राेजगारीका लागि खाडी मुलुकमा रहेका नेपालीहरुसँग सम्पर्क गर्ने गरेका थिए ।

प्रहरीका अनुसार उनले आफ्नो पहिले काठमाडाैँ एयरपोर्टमा क्यानडा जाने सिलसिलामा भेटघाट / चिनजान भएको भनि भ्रममा पारी सम्पर्क गरी आफू विगत १४ वर्षदेखि अध्ययनको लागि क्यानडा आएको र उतै बिहे गरी पिआर समेत प्राप्त गरी सकेको बताउने गरेका थिए ।

साथै,  क्यानडामा आफ्नै लगानीमा २/४ वटा क्याफे संचालन गरिराखेको, कैयौँ नेपालीहरुलाई रोजगारी दिलाईराखेको र गैर आवासीय नेपाली संघ, क्यानडाको उच्चपदस्थ अधिकारी समेत रहेको बताउने गरेका थिए ।

सम्पर्क हुन थालेको केही समय पछाडी आफ्नो बाबु बिरामी परेकोले उपचारको लागि बाबुलाई क्यानडा नै लैजानको निम्ति नेपाल आएको र हाल भारतको सिलिगुडीमा बाबुको उपचार गराई रहेकोले बाबुलाई क्यानडा लैजाँदा स्पोन्सर भिसामा लैजाने भनेर प्रतिव्यक्ति २/२ लाख रुपैयाँ लिने गरेका थिए ।

दूतवासमा ४ लाख लाग्ने तर, आफूले २ लाख हालिदिने र पछि क्यानडा गएर कमाएपछि फिर्ता दिँदा हुने भन्दै विश्वास दिलाएका थिए । अहिले खड्काविरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनी, दमक, धुलाबारी र काँकडभिट्टामा उजुरी दिनेहरुको संख्या एकसय भन्दा धेरै रहेको जिल्ला प्रहरी कार्योलय झापाका प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

खड्काले पीडित व्यक्तिहरुलाई दिल्ली स्थित क्यानडा दूतावासमा अन्तरवार्ता दिनको लागि भारत सिलीगुरीको बाग्डुग्रा एअरपोर्टबाट दिल्ली जानुपर्छ भनी झापाको दमक, बिर्तामोड, धुलाबारी, काकडभिट्टा र भारत पानीटन्की सम्म बोलाउने  गरेका थिए ।

त्यहाँबाट दूतावासमा अन्तरवार्ता फेस हुनको लागि सैलु मा कपाल काट्न, फेसवास गर्न पसाउने गरेको र सोही मौकामा पीडितहरुले ल्याएको पैसा मागी भारतीय मुद्रा(भारु) साटेर आउँछु भन्दै वेपत्ता हुने गरेका पीडितहरुलाई उदृत गर्दे एसपी मैनालीले जानकारी दिए ।

पैसा लिएपश्चात पीडितहरुलाई फेसबुकमा ब्लक गर्ने र मोबाइल फोन समेत अफ गरी फरार हुने गरेको प्रहरीले जनाएको छ । उनले पीडित व्यक्तिहरुको कागजात र फोटो दुरुपयोग गरी सिमकार्ड खरिद गरी चलाउने गरेको समेत भेटिएको छ ।

खड्काले सन् २०१२ देखिनै ५ वटा फेक फेसबुक एकाउण्ट खोली एनआरएनका विभिन्न गतिविधिहरु पोष्ट गर्ने र आफ्नो जीउडालसँग मिल्दोजुल्दो हुलिया भएको क्यानडामा बस्ने एक युवकको फोटोहरु आफ्नो फेक फेसबुक वालमा अपलोड गरी अधिकांश स्टाटस तथा फोटोहरु टोरन्टो, क्यानडा बाट र बिभिन्न युरोपियन तथा अमेरिकन मुलुकहरुमा भ्रमण गरेको भान पार्ने गरी पोष्ट गर्ने भेटिएको प्रहरीले जनाएको छ ।

उनले सन् २०१२ देखि हालसम्म अन्दाजी ८०० भन्दा बढी व्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने अनुमान गर्दै प्रहरीले अन्य पीडित व्यक्तिहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

खड्काले प्रत्येक पीडित व्यक्तिहरुलाई क्यानडामा रहेका आफ्ना बालबच्चाहरुको लागि भन्दै गाउँको शुद्ध मह समेत ल्याउन लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।