१ कार्तिक २०८३, आइतबार

भारत-पाक गोली हानाहान, पाँच भारतीय र तीन पाकिस्तानी सैनिक मारिए

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद, ३१ साउन । काश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच जना भारतीय र तीन जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ ।

नियन्त्रण रेखामा भएको गोली हानाहानमा तीन पाकिस्तानी सैनिक शहीद भएको पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरले बताएका छन् ।

भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको गाफुरको ट्वीटमा उल्लेख गरिएको छ । ट्वीटमा केही भारतीय सैनिक घाइते भएको उल्लेख गरिए पनि संख्याबारे केही बताइएको छैन ।

उनले लेखेका छन्, ‘सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान भएको छ ।’ उनले भारत प्रशासित काश्मीरबाट भारतीय सेनाले नियन्त्रण रेखामा गोली चलाएको उल्लेख गरेका छन् ।

५ अगस्टमा भारतले जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा अन्त्य गर्ने निर्णय गरे पनि सो क्षेत्रमा तनाव चुलिएको छ ।

काश्मीरमा सञ्चारमाध्यम बन्द छन् भने बजार पसलसमेत खुल्न सकेका छैनन् । धारा ३७० खारेज गरेकामा रुष्ट पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्ध सीमित पार्दै व्यापारसमेत रोक्ने निर्णय गरेको छ । पछिल्लो गोली हानाहानको घटनाबारे भारतीय पक्ष भने मौन देखिएको छ ।