
काठमाडौँ, ३० साउन । जहाजमा चरा ठोकिएपछि रूसको मस्कोनजिकै आज एक चालकले मकैबारीमा जहाज अवतरण गराएका छन् ।
मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ठोकिएको थियो।
चरा ठोक्किएर जहाजका दुबै इन्जिनमा समस्या आयो, जहाजभित्रका बत्तिहरू निभ्न थाले तर, चालकले निकै संयमताका साथ जहाजलाई मकैबारीमा आपतकालीन अवतरण गराउन सफल भए ।
युराल एयरलायन्सको जहाजमा २२६ यात्रु र सात जना चालक दलका सदस्य थिए । विमानस्थलदेखि झन्डै १ किलोमिटर टाढाको मकैबारीमा जहाज सुरक्षित अवतरण भएको छ । घटनामा २३ यात्रु घाइते भएको रूसी अधिकारीले जनाएका छन् ।
जहाजबाट सबै यात्रुलाई बाहिर निकालिएको छ भने घाइतेलाई अस्पताल लगिएको थियो । घाइतेमध्ये ५ जना बालबालिका रहेको रूसी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युराल एयरलायन्सले जहाजका पाइलट निकै अनुभवी भएकाले सफल अवतरण गर्न सकिएको जनाएको छ । नाम नखुलाइएका ती पाइलटले तीन हजार घन्टा उडान भरिसकेका छन् । -एजेन्सी















प्रतिक्रिया