६ कार्तिक २०८३, शुक्रबार

बाढीले बिगार्‍यो ४५ वटा पुल, पुनर्निर्माण गर्न आधा अर्ब लाग्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । हालैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका ४५ वटा पुलमा क्षति पुगेको छ भने आधा अर्ब बराबरको क्षति भएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको र तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान गरिएको बताए ।

संसद्को विकास समितिको आइतबारको बैठकमा मन्त्री महासेठले समिति सदस्यहरूलाई यस्तो जानकारी दिएका हुन् ।

मन्त्री महासेठका अनुसार सडक डिभिजन खुर्कोटअन्तर्गत पाँच वटा पुलमा क्षति पुगेको छ भने तीनको मर्मतमा ४७ लाख खर्च हुने अनुमान छ ।

सडक डिभिजन विराटनगरअन्तर्गत तीन वटा पुलमा क्षति पुगेको छ । ती पुलको मर्मतमा १ करोड २५ लाख खर्च हुने अनुमान छ । सडक डिभिजन जनकपुरमा पाँच वटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि २ करोड ९० लाख लाग्ने अनुमान गरिएको छ ।

सडक डिभिजन लहानअन्तर्गत ६ वटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि १ करोड खर्च लाग्ने अनुमान गरिएको छ । यस्तै, उत्तर–दक्षिण व्यापारिक मार्गअन्तर्गत एउटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि ५० लाखको खर्च अनुमान छ ।

यस्तै, सडक डिभिजन हेटौंडामा ३, सडक डिभिजन नेपालगन्जमा ३, मध्यपहाडी लोकमार्ग आयोजनामा २ र सडक डिभिजन झापामा ७ वटा पुलमा क्षति पुगेको छ । ती पुलको पुनर्निर्माणका लागि २ करोड १ लाख, ३ करोड, १ करोड २० लाख र २ करोड २५ लाख खर्च हुने मन्त्रालयले अनुमान गरेको छ ।

यसैगरी, सडक डिभिजन दमौलीमा एउटा पुलमा क्षति पुगेको छ भने बनाउन १ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ । यस्तै, सडक परिक्रमा मार्ग जनकपुरमा एउटा पुलमा क्षति पुगेको छ भने त्यसको पुनर्निर्माणमा २ करोड ५० लाख लाग्ने अनुमान छ ।