६ कार्तिक २०८३, शुक्रबार

वीरेन्द्र परिवारको २१,५६३ रोपनी जग्गा ट्रस्टमा

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ ।

काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनका नाममा रहेका जग्गाको स्वामित्व ट्रस्टको नाममा ल्याइएको छ । ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भने सकेको छैन ।

ट्रस्टमा आएको जग्गामध्ये कोही लिजमा दिइएको छ कोही भाडामा छ, कोही जग्गा कब्जा गरिएको छ । कतिपय स्थानमा सरकारी कार्यालय बसेका छन् कति स्थानका जग्गा बेवारिसे छ।

लिजमा कहाँ कति ?

काठमाडौंको गोकर्णमा ट्रस्टका नाममा ३९७१ रोपनी ३ पैसा ३ दाम जग्गा छ । यसमध्ये २९७१ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा लिजमा दिइएको छ । वीरेन्द्र जीवित रहँदै एलएम सुवीर ब्रदर्स (नेपाल) प्रालि काठमाडौं र यती होल्डिङ्स प्रालिलाई लिजमा दिइएको थियो । २०६७ वैशाख ५ गते ट्रस्टले लिजको पुनः सम्झौता गरेको छ । नयाँ सम्झौताअनुसार २०२५ मंसिर १५ गतेसम्मका लागि लिजमा दिइएको छ ।

१८ औंदेखि २० औं वर्षसम्म १ लाख ६० हजार, २१ देखि २५ औं वर्षसम्म २ लाख ४० हजार र २६ आंैदेखि ३० औं वर्षसम्म २ लाख ६० हजार वार्षिक भाडा तय गरिएको छ । गोकर्णको केही जग्गा भूमाफियाले कब्जा गरेका छन् भने केही स्थानीयले मिचेका छन् ।

कमलादीमा ट्रस्टको ५ रोपनी २ पैसा जग्गामा काठमाडौं प्लाजाको भवन छ । कन्सेप्ट डेभलपर्स प्रालिले २०५० असार ३ गते यो जग्गा लिजमा लिएको थियो । २०६६ पुस २३ गते लिज पुनः सम्झौता गरिएको छ । सम्झौतामा २०६७ असार ३ देखि २०७२ असार २ सम्म ६१ लाख र २०७२ असार ३ देखि २०७७ असार २ सम्म ७५ लाख रुपैयाँ वार्षिक भाडा तोकिएको छ ।