मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

नगरपालिकाले पहिलाे लगानी सम्मलेन गर्ने

दैनिक नेपाल २०७६ साउन २४ गते १८:१७

-प्रतिक पौडेल
भैरहवा, २४ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । हाल सम्म नेपाल सरकार बाहेक नेपालमा कुनै तहले नगरेको लगानी सम्मेलन आगामी असोज ९ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र उद्योगलाई प्रमुख आधार बनाएर लगानी सम्मेलन गर्ने जानकारी दिएको छ ।

नगरपालिकामा प्रशस्त सार्वजनिक जग्गा रहेकोले उक्त जग्गाको सदुपयोग गरेर तिलोत्तमालाई नेपालकै समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ लगानी सम्मेलन गर्न लागिएको जानकारी प्रमुख बासुदेव घिमिरेले दिए ।

उनका अनुसार स्वदेशी र विदेशी लगानीकर्ता गरि करिव २ सय ५० लगानी कर्ता गरि ५ सय जनाको उपस्थिति सम्मेलनमा हुनेछ । सम्मेलन तिलोत्तमाको कोटिहवा रहेको टाइगर प्यालेस रिसोर्टमा हुनेछ ।

सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको छ । सम्मेलनमा करिब ३० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । नगरप्रमुख घिमिरेका अनुसार २० लाख रुपैया नगरपालिकाले बिनयोजन गरेको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको छ ।

नगरपालिकाले लगानी सम्मेलनमा प्रस्ताव गर्न करिव १९ वटा परियोजना तयार पारेको छ ।

परियोजनामा तिलोत्तमा एकिकृत कृषि उपच संकलन तथा प्रशोधन केन्द्र (कोल्डस्टोर सहित), तिलोत्तमा एकिकृत फोहरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ढाक्रेवास एकिकृत पर्यटकीय स्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, तिलोत्तमा सिटी कलेज (सुचना प्रविधिसँग सम्बन्धित), तिलोत्तमा प्रादेशिक बसपार्क, तिलोत्तमा अटो भिलेज, तिलोत्तमा औधोगिक छेत्र, तिलोत्तमा बिजनेश हव, तिलोत्तमा रेलवे (रिङरोडमा), स्मार्ट हाटबजार निर्माण, तिलोत्तमा एकिकृत दुध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ्ग स्थल, स्मार्ट बाल उद्यान, शंकरनगर बनवाटिका, बाउन्नकोटी बनवाटिका, रोहिणी एकिकृत पर्यटकिय क्षेत्र विकास परियोजना, मिनी नेपाल र तिलोत्तमा महिला तथा बाल अस्पताल रहेको छ ।

उक्त परियोजना हरुमा नगरपालिकाले करिव २ अर्ब लगानी जुटाउने लक्ष्य राखेको छ ।

सम्मेलनमा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली लगायतको सहभागीता हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित