मंगलबार, ३ भदौ २०७६
DainikNepal.com
मंगलबार, ३ भदौ २०७६

उदयपुर सिमेन्टलाई ५० करोड घाटा

दैनिक नेपाल २०७६ साउन २४ गते ७:०८

उदयपुर, २४ साउन । पूर्ण सरकारी स्वामित्वमा रहेको मूलुकको सबै भन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई झन्डै ५० करोड नोक्सानी भएको छ ।

उद्योगको हाइटेन्सन मोटर बिग्रिएर दुई महिना क्लिंकर उत्पादन नहुँदा झन्डै ५० करोड रुपैयाँ उद्योगलाई नोक्सानी भएको हो ।

सिमेन्ट बढी बिक्री हुने (पीक सिजन) चैतदेखि साउनसम्म उद्योग विभिन्न कारणले बन्द भएको छ ।

उद्योग बन्द हुँदा लक्ष्यअनुरुप क्लिंकर उन्पादन र सिमेन्ट बिक्री नभएको उद्योगको तथ्यांकमा उल्लेख छ । निमित्त महाप्रबन्धक नवलकिशोर साहसहितका व्यवस्थापनका कर्मचारीको लापर्बाही नै उद्योग राम्ररी चल नसक्नु प्रमुख कारण रहेको स्वयम् उद्योगका कर्मचारी बताउँछन् ।

निमित्त महाप्रबन्धक साह पहिलेदेखि उद्योगको हितमा काम गर्ने व्यक्ति नभएको एक कर्मचारीले बताए । उनको नाम मारुती सिमेन्ट उद्योगसँग जोडिने गरेको छ ।

निमित्त महाप्रबन्धक साहले विद्युत्को भोल्टेज हाई–लो भएकै कारण मोटर बिग्रिएको र त्यसमा पनि बुटवलस्थित मर्मत गर्ने प्राविधिकले तोकिएको समयमा मर्मत गरिदिन्छु भनेर झुक्याएकाले लामो समय बन्द हुन पुगेको बताएका छन् ।

उनले मोटर जडान भइरहेकाले आमागी आइतबारबाट सिमेन्ट उत्पादनको काम थालिने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित