आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

नेपालसहित पाँच देशले ओमानमा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

दैनिक नेपाल २०७६ साउन २१ गते १६:५२

काठमाडौँ, २१ साउन । नेपालसहित पाँच देशले आगामी असोज तेस्रो साता टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् । ओमान क्रिकेटको आयोजनमा अक्टोबर ३ (असोज १६) देखि टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने जनाइएको छ । पाँच वटै टिमलाई प्रतियोगितामा भाग लिन एक महिनाअघि पत्राचार भइसकेको आयोजकले जनाएको छ ।

नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले ओमानमा हुने टी-२० प्रतियोगितामा सहभागी हुनका लागि इमेल आएको पुष्टि गरेका छन् । उनले नेपालको सहभागिताको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले निर्णय गर्ने बताए ।

२०७३ मा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको आइसिसी नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ ।

प्रतियोगिता आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो । विश्व छनोटमा नेपाल छनोट हुन नसकेको अवस्थामा पनि आइसिसीले नेपालको सहभागिता पक्का गर्ने विश्वास गरिएको छ ।

विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

जहाँ स्टकल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, हङकङ, ओमान, आयरल्यान्ड, युएई, पपुवा न्युगिनी, केन्या, नामिबिया, जर्सी र सिंगापुर छनोट भइसकेका छन् ।

१४ देशको सहभागिता हुने विश्व प्रतियोगिताका लागि अमेरिका क्षेत्रबाट २ टिम छनोट हुन बाँकी छ।

नेपाल भने दुई साताअघि सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो । विश्व वरीयताको ११ औं स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित