बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

भारतकाे जम्मू कश्मीर काण्डले नरेन्द्र माेदीलाई तनाव, कर्फ्यू जारी

दैनिक नेपाल २०७६ साउन २० गते ९:०६

नयाँदिल्ली, २० साउन । भारत प्रशासित जम्मू–कश्मीरको राजनीति अवस्था अस्थिरता तर्फ धकेलिएको छ ।

आइतबार मध्यरात तथा सोमबार बिहानैदेखि राजनीतिक घटनाक्रम तीव्र रुपमा फेरिएका छन् । सरकारले जम्मू–कश्मीरका विपक्षी नेताहरुलाई नजरबन्दमा राख्न थालेको छ ।

नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्ती र जम्मू–कश्मीर पिपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीनगरमा रहेका पत्रकार माजिद जहांगीरलाई उद्धृत गर्दै बिबिसी हिन्दीले यी नेता नजरबन्दमा परेको पुष्टि गरेको छ ।

यस्तै स्थानीय सरकारले राजधानी श्रीनगरमा कर्फ्यू जारी गरेको छ । धारा १४४ अनुसार जारी भएको कर्फ्यू अर्को आदेश नआएसम्म कायम रहने बताइएको छ ।

यो आदेश अनुसार मानिसहरुको आवतजावतमा रोक लागेको छ भने सबै शैक्षिक संस्था पनि बन्द रहनेछन् । सरकारले श्रीनगरसहित अधिकांश क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।

यसअघि उमर अब्दुल्लाले ट्वीट गरेर आफूलाई नजरबन्द गर्न सक्ने आशंका व्यक्त गरेका थिए । उनले ट्वीटमा लेखेका छन्, ‘मसहित अरु नेताहरुलाई नजरबन्द गर्ने प्रक्रिया सुरु भएको छ ।’

त्यसको जवाफमा कांग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री शशी थरुरले लेखेका छन्, ‘उमर अब्दुल्ला तपाइँ एक्लै हुनुहुन्न । हरेक लोकतान्त्रिक भारतीय कश्मीरमा मुख्यधारका नेताको साथमा उभिएका छन् । संसदको सत्र चलिरहेको छ र हाम्रो आवाजलाई बन्द गराउन सक्ने छैनन् ।’

पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीले ट्वीट गरेर कश्मीरका लागि एकजुट रहने बताएकी छन् । अवस्था मुश्किल रहे पनि आफूहरुको प्रतिबद्धतालाई कसैले तोड्न नसक्ने उनले बताएकी छन् ।

कश्मीरको पछिल्लो अवस्थाबारे अर्गनाइजेशन अफ इस्लामिक कन्ट्रिज (ओआइसी) ले पनि चिन्ता जताएको छ ।

आर्टिकल ३५ ए र अनुच्छेद ३७० खारेज गर्ने तयारी भएको अड्कलका बीच आइतबार बेलुका जम्मू–कश्मीरका मुख्यधारका राजनीतिक दलका नेताहरुको बैठक श्रीनगरमा बसेको थियो । उनीहरुले राज्यलाई प्राप्त विशेष दर्जा बचाउनका लागि एक हुने प्रतिबद्धता जनाएका छन् ।

जम्मू–कश्मीरमा केही दिनदेखि अवस्था खराब बन्दै गएको छ । सरकारले हिन्दू तीर्थयात्री तथा पर्यटकलाई लक्षित गर्दै सुरक्षा सतर्कता जारी गरेपछि त्यहाँ अन्यौलको अवस्था सिर्जना भएको हो । सरकारले अस्थिरता सिर्जनाका लागि यस्तो गरेको आरोप नेताहरुले लगाउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित