१ कार्तिक २०८३, आइतबार

ब्राजिलकाे जेलभित्र कैदीबन्दीबीच झडप, ५२ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ साउन । ब्राजिलमा जेलभित्र कैदीबन्दीबीच झडप हुँदा कम्तीमा ५२ जनाको ज्यान गएको छ ।

ब्राजिलको पारा राज्यमा रहेको अल्तामिरा जेलमा कैदीबन्दीबीच झडप भएको हो । कैदीबन्दीबीच करिब ५ घण्टासम्म झडप भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अल्तामिरा जेलभित्र रहेका एक कैदीबन्दीको समूह अर्को कैदीबन्दीको समूहमा गएपछि झडप सुरु भएको थियो । जेलको एक भागमा कैदीबन्दीले आगो लगाएका कारण केहीको निसास्सिएर ज्यान गएको हो भने १६ जनाको टाउको काटेर हत्या भएको हो ।

कैदीबन्दीहरुले जेलका अधिकारीहरुलाई पनि बन्दी बनाएका थिए । स्थानीय समय अनुसार सोमबार बिहान सात बजेदेखि झडप सुरु भएको थियो ।

ब्राजिलको सञ्चारमाध्यममा जेलबाट धुँवा आइरहेको दृश्य देखाइएको छ भने अन्य केही भिडियोमा कैदीबन्दीहरु जेलको छतमा घुमिरहेको दृश्य पनि देखाइएको छ ।

जेलभित्र रहेका कमाण्डो क्लासेज ए समूहका कैदीबन्दी र कमाण्डो वेर्मेल्हो समूहका कैदीबन्दीबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

ब्राजिलको जी १ समाचार संस्थाका अनुसार जुन जेलमा झडप भएको थियो त्यहाँ २ सय कैदी राख्न मिल्थ्यो तर त्यहाँ ३ सय ११ जना कैदी रहेका थिए । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण पनि ब्राजिलमा विभिन्न समयमा जेलभित्र झडप हुँदै आइरहेको छ ।