१७ कार्तिक २०८३, मंगलबार

नयाँ प्रविधिको तरकारी टनेल निर्माण

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बेझाड, ११ साउन । निर्वाहमुखी कृषि प्रणाली त्याग्दै उत्पादनमुखी आधुनिक प्रविधिका माध्यमबाट आम्दानीको स्रोत बढाउन रामपुरमा हालै उच्च प्रविधिको तरकारी टनेल (हाइटेक पोलिहाउस) निर्माण गरिएको छ ।

पाल्पा जिल्लामै सबैभन्दा ठूलो उच्च क्षमताको मानिएको यो टनेल रामपुर नगरपालिकाले कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ, ३६ मिटर चौडाइ रहेको टनेल निर्माण गरेको हो ।

प्रदेश सरकारको रु २५ लाख सहयोग र नगरपालिकाको ३१ लाख गरी रु ५६ लाखको लागतमा निर्माण गरिएको हो । टनेल निर्माणको काम लगभग सकिसकेको छ र अब बेमौसमी जातको तरकारीको बिरुवा लगाउने तयारी भइरहेको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभयो ।

नगरपालिका स्वयंले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी राजश्व बढाउने बताएको छ । यो प्रविधिको टनेल समय समयमा मर्मतसम्भार गरिएको खण्डमा १० वर्षदेखि २० वर्षसम्म प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

“यस टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा चिसो तापक्रम, थोपा सिँचाइ प्रविधि, हावामा सापेक्षिक आद्रता कायम गर्ने, घामको तापक्रम छेक्ने, किरा लाग्नबाट बचाउने गर्छ,” प्रमुख पाण्डेयले भन्नुभयो, “कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन यस टनेलले ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ ।”

यहाँ आधुनिक प्रविधिको नयाँ टनेल निर्माण भएपछि यस क्षेत्रका कृषकमा उत्साह बढेको अगुवा कृषक सूर्यप्रसाद रेग्मीले बताउनुभयो । “यहीँ टनेल हेर्नको लागि पोखरा, चितवन, बुटवल, भैरहवा लगायतका विभिन्न जिल्लामा रकम खर्च गरेर पुगियो, अहिले त अब यही निर्माण भएपछि प्रविधि अवलोकनका लागि अन्यत्र जानु परेन”, उहाँले थप्नुभयो ।

यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल लामो समय नबिग्रियोस् भनेर भण्डार गरेर राख्न करीब ३०० भन्दा बढी मेट्रिक टन क्षमताको चिस्यान केन्द्र पनि निर्माण हुने क्रममा छ । रामपुर नगरपालिका क्षेत्र कृषिको लागि सम्भावना बोकेको हँुदा पनि कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ । –रासस