आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

‘हनि ट्रयाप’को अर्को घटना : झापामा यसरी ‘लुटिए’ व्यापारी

रामकुमार शाही २०७६ साउन ७ गते १७:१४

-रामकुमार शाही/दैनिक नेपाल

काठमाडाैँ,  ७ साउन ।  झापा बिर्तामोड-४ का एक व्यवासायीलाई गएको असार २८ गते जया खान बताउने युवतीले इमोमा फाेन गरिन् । उनीहरुबीच सामान्य कुराकानी भयाे । त्यसयता उनीहरुबीच इमाे र मोबाइलमा अन्तरंग कुराकानी हुन थाल्यो । भिडियो कल पनि हुन थाल्यो । ती युवतीकोसँगको कुरा र भिडियो कलपछि उनीहरुबीच भेट्ने कुरा भयाे ।

दुईजनाकाे सहमतिपछि साउन १ गते साँझ साढे ७ बजे बिर्तामोडस्थित कुमारी बैंक नजिकै भेट्ने सहमति भयो । भेटेपछि जया खान बताउने ती युवतीले साथी कोठामा जाउँ भनेर व्यवसायीलाई कुमारी बैंकको छेउ गल्ली भित्रको घरको लिएर गइन् ।

जब उनीहरु त्यहाँ पुगेर बसे राति ८ बजेको समयमा २/३ जना अपरिचित युवाहरु हतियारसहित प्रवेश गरे । र, ती व्यवसायीलाई नाङ्गै बनाएर भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिने भन्दै ५० लाख माग्न थाले ।

त्यसपछि मात्र ती व्यवसायीको हाेस हवास् उड्यो । अनि, आफू हनि ट्रयापिङमा परेको थाहा पाए । जिया खानसँग भेटेर अन्तरंग रमाइलो गर्ने साेँचका साथ पुगेकी ती व्यवासायी अन्तत:  ५ गतेभित्र ४० लाख रुपैयाँ बुझाउने सहमति गरेर चिनजानका साथी मेराज खानको रोहवरमा घर फर्किए ।

उनी घर फर्किएसँगै उनलाई बारम्बार फोन आउन थाल्यो । ज्यान मार्नेसम्मको धम्की आउन थालेपछि ती व्यापारीले प्रहरीमा लिखित उजुरी गरे ।

उनको उजुरीपछि घटनामा संलग्नहरुको खाेजी गरेको प्रहरीले झापा बिर्तामोड- ४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने वर्ष २९ को मेराज खान, ईलाम फाकफोकथुम गाउँपालिका- १ घर भइ हाल  झापा बिर्तामोड-२ चारपाने बस्ने बर्ष २० की रितु फियाक लिम्वुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

साथै,  भारत पश्चिम बंगाल, दार्जिलिङ थाना खोरिबारी वतन बताउने बर्ष २७ को सञ्जु क्षेत्री भन्ने सुजन शंकर र जिल्ला झापा बिर्तामोड – ४ बस्ने वर्ष २५ को प्रकाश दासलाई पनि उनीहरुसँगै पक्राउ गरिएको छ ।

उनीहरुलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा एसपी दिनेशराज मैनाली ,  डिएसपी महेन्द्रकुमार श्रेष्ठ र मोहनकुमार थापा

पीडितलाई धम्की दिँदा प्रयोग भएका मोबाइल नम्बरहरु र प्रतिवादीहरुको मोबाइल नम्वरहरुको कल डिटेल विश्लेषण, फेसबुक, इमो लगायतका सामाजिक संजालहरुबाट प्राप्त सूचना, प्रतिवादीबीचको लिंक अध्ययन, प्रतिवादी मध्येका मिराज खानको निगरानी लगायतका प्रविधिको प्रयोग गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अुनसार घटनामा प्रयोग भएकी रितु फियाक लिम्वुका अनुसार सन्जु क्षेत्री भन्ने सुजन शंकरले पीडितको मोबाईल नम्बर दिई कुरा गर्न लगाएका थिए ।

सुजन शंकरकै निर्देशनमा बिर्तामोड-४ स्थित भद्रपुर रोड कुमारी बैंक निजकैको एक घर कोठाको चावी लिएर गएकी थिइन् । घरको ४ तलामा रहेको फ्ल्याट कोठा प्रतिवादी मध्येका प्रकाश दासको नाममा ५ महिना देखि भाडामा लिएको  तर, कोठामा कुनैपनि सरसामान नभएको इप्रका बिर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिए ।

सुजन शंकरले मुखमा माक्स लगाएर हातमा छुरी समेत लिई पीडितलाई छुरी देखाई गाली गलौज तथा कुटपिट समेत गरी बिर्तामोडमा पीडितले चिनेको मानिस अर्का प्रतिवादी मेराज खानलाई बोलाएका थिए । रितु फियाक लिम्वुलाई सुजन शंकरको निर्देशनमा प्रकाश दासले चारपाने स्थित दिदिको घरमा स्कुटरमा छाडिदिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरुबाट बरामद गरिएको सामान

पक्राउ परेकाहरुविरुद्ध शरीर बन्धक बनाई अपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागूऔषध अभियोगमा मुद्धा दर्ता गरी झापा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

चारआलीबाट पक्राउ गरेका उनीहरुको साथबाट बा.१५ च ७३३९ नम्वरको कार-१ थान, स्कुफ लेखिएको १०० मिलिमिटरको शिलप्याक बोतल थान-३, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की, निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लाष्टिकको पेस्तोल जस्तो देखिने बस्तु एक थान बरामद भएको एसपी मैनालीले जानकारी दिए ।

अभियुक्तहरुले अपराध गर्नका लागि विर्तामोड स्थित भद्रपुर रोड कुमारी बैंक पश्चिम पट्टिको गल्ली भित्र एउटा घरको चारतल्लामा फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको प्रहरीले अनुमान गरेको छ ।

घटनामा संलग्न सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा २ जना महिलालाई जवरजस्ती यौन धन्दामा लगाएकोले मानव वेचविखन तथा ओसारपसार मुद्धामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा फरार रहेका व्यक्ति भएको झापा प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जनाए ।

दुई वर्षअघि दाङमा एक व्यसायीलाई ‘हनि ट्रयाप’मा पारेर हत्या भएको थयो ।

प्रतिक्रिया
सम्बन्धित