शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

नकाबधारी समूहद्वारा हङकङमा अन्धाधुन्ध लाठी प्रहार

दैनिक नेपाल २०७६ साउन ६ गते ८:४०

लण्डन, ६ साउन । नकाबधारी व्यक्तिको एक समूहले हङकङको व्यस्त रेलवे स्टेसनमा अन्धाधुन्ध लाठी प्रहार गरेको छ। युएन लङ जिल्लाको व्यस्त रेलवे स्टेसनमा आइतबार नकाबधारी व्यक्तिको समूहले अन्धाधुन्ध आक्रमण गरेको हो ।

हातमा लट्ठी लिएका व्यक्तिहरुले रेलवेको प्लेटफर्ममा रहेका र रेल भित्र रहेका व्यक्तिमाथि प्रहार गरेका हुन् । आक्रमणकारी सबै सेतो टि–सर्टमा थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा कम्तिमा ३६ जना घाइते भएका छन् ।

हालै हङकङको केन्द्रमा भएको प्रजातन्त्रवादीहरुको प्रदर्शनपछि भिडमा लाठी प्रहार भएको हो । प्रजातन्त्रवादीहरुको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।

रेलवे स्टेसनमा आक्रमण गर्ने नकाबधारी को हुन् र उनीहरुको उद्देश्य के थियो भन्ने स्पष्ट भएको छैन। स्थानीय सरकार र प्रहरीले केही व्यक्तिले यात्रुमाथि आक्रमण गरेको उल्लेख गरेका छन् ।

पछिल्लो समय हङकङमा अस्थिरता बढेको छ । हङकङ सरकारले ल्याएको सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनको दबाबमा सरकारले विधेयक फिर्ता लिएको छ तर प्रजान्तत्र खतरामा रहेको भन्दै प्रदर्शन जारी छ । यहिबिचमा नकाबधारीले रेलवे स्टेसनमा अन्धाधुन्ध आक्रमण गरेका हुन् । यो घटनाको पछिल्ला प्रदर्शनसँग सम्बन्ध रहे–नरहेको खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित