बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

बालबालिकाहरुलाइ झाडापखालाबाट बचाउने उपायहरु

दैनिक नेपाल २०७६ असार २८ गते १६:५७

-एसपी उप्रेती

सामान्य अवस्थामा भन्दा धेरै पटक पातलो किसिमको दिसा लाग्नु, पेट दुख्नु, खाना मन नलाग्नु, हल्का ज्वरो आउनु आदि झाडापखालाको लक्षण हो । यो रोग रेटो्र भाइरसको प्रजाति एस्कारिकिया कोली नामक किटाणुको संक्रमण कारणले गर्दा लाग्ने गर्छ ।

त्यस्तै कुपोषण तथा खानामा किटाणु मिसिएर पनि यो रोग लाग्ने गर्छ । यो सरुवा रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा पाँच वर्षभन्दा मुनिका वर्षेनि झण्डै लाख बालबालिकाको मृत्यु हुने गरेको छ । झाडापखाला नेपाल जस्तो देशमा हरेक पाँचजना बालबालिकामध्ये एक जना झाडापखालाको कारणले गर्दा ज्यान गुमाउन पुग्छन् । वर्षेनि हजारौँ बालबालिकाले ज्यान गुमाउने गर्दछन् ।

यो असाध्य रोग भने होइन तर समयमा उचित हेरचाह नहुँदा र उपयुक्त ख्याल नगर्दा यो सामान्य रोगको कारणले पनि मृत्युवरण गर्नुपरेको यथार्थ निकै दुःख लाग्दो हो । विशेषगरी वर्षायाममा यसको प्रकोप झन्झन् विकराल हुन्छ । यो समयमा महामारीकै रुप समेत लिन सक्छ यसो भयो भने हाम्रा बालबालिकाहरुलाई उपचार गर्नै चुनौतीपूर्ण हुन जान्छ । हामी अहिले दुःखको घडीमा छौँ । देशैभर बाढीपहिरो तथा संक्रमणले गाँजिरहेको छ । यो प्रकृतिको नियम हो ।

हामी वर्षालाई केही गर्न सक्दैनौँ तर आफूलाई सुरक्षित तथा व्यवस्थित भने बनाउन सक्छौँ । हामी सबै यस विषम परिस्थितिमा आफूलाई संयमित बनाउँदै अन्य हुन सक्ने सम्भावित जोखिमबाट हामी बच्न सक्छौँ । अर्काे पक्ष बालबालिकामा प्रकोप फैलन नदिन हामी सचेत हुन जरुरी छ । त्यसैले आफ्ना बालबालिकालाई झाडापखाला र आउँ जस्ता संक्रमणबाट बचाउन निम्न उपायहरु अपनाउनु होस् ।

१. सफा र स्वच्छ पिउने पानीको प्रयोग गर्ने
२. सरसफाइमा ध्यान दिने
३. खाना अघि खाना पछि साबुन पानीले हात धुने
४. कम्तिमा ६ महिनासम्म शिशुहरुलाई आमाको दुधमात्रै खुवाउने
५. व्यक्तिगत सरसफाइमा बालबालिकाको ध्यान दिने
६. कसरी यस्ता सरुवा रोगको संक्रमण हुन्छ भन्नेमा जानकारी राख्ने ।
७. रेट्रो भाइरसको खोप लगाउने

यदि झाडापखालाको संक्रमण भइहालेमा यसो गर्नुस् 
१. सरसफाइलाई ध्यानमा राखी बढी भन्दा बढी झोल पदार्थ खुवाउनुहोस् ।
२. सफा पानीमा चिनी तथा नुनको मिश्रण बनाएर खुवाउनुस् ।
३. रुमाल लगायत व्यक्तिले प्रयोग गर्ने सामान अरुलाई प्रयोग गर्न नदिनुस् ।
४. दिसा, पिसाब केवल शौचालयमा गर्न लगाउनुस् अन्यथा संक्रमण सबैमा फैलिन सक्छ ।
५. जीवनजल, जिङ्क चक्की सेवन गराउनुस्
६. माथिका उपायहरुले काम नगरेमा तुरुन्तै नजिकैको अस्पतालमा बालबालिकालाई लिएर जानुहोला ।

प्रतिक्रिया
सम्बन्धित