बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

बर्षाले वितण्डा : ६ जनाको ज्यान गयो, धनमालको क्षति

दैनिक नेपाल २०७६ असार २७ गते १४:४६

काठमाडौं, २७ असार । बिहीबार साँझदेखि भएको अविरल बर्षाका कारण मुलुकका विभिन्न स्थानमा क्षति भएको छ । प्रहरीका अनुसार मानवीय क्षति पनि भएको छ । शुक्रबार आएको विवरणमा ६ जनाको मृत्यु भइसकेको छ ।

रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर र ललितपुरमा गरी ६ जनाको ज्यान गएको प्रहरीले जनायो । बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको मृत्यु भएको हो । रामेछापमा न पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।

भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भयो । टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता छन् ।

राससका अनुसार अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।

निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।

प्रतिक्रिया
सम्बन्धित