
काठमाडाैँ, २४ असार । नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचालेको हो ।
मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए । खड्ग बहादुर बाेहरा ८ रनमा पाेविलियन फर्किए ।
यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनाएको थियो ।
खराब सुरुवात गरेको हङकङले रनको खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाएको थियो । तर, आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै, उसका रौनक कपुरले १२ रन बनाए ।
हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए ।
यस्तै, कमल सिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो ।
नेपालले एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।















प्रतिक्रिया