बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

यू-१९ एसिया कप छनाैट : हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो

दैनिक नेपाल २०७६ असार २४ गते ११:१६

काठमाडाैँ, २४ असार ।  यू–१९ एसिया कपमा स्थान बनाउन नेपालले ९६ रनको लक्ष्य पाएको छ । मलेसियाको किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो ।

सागर ढकालले ५ विकेट लिएपछि हङकङको पारी ९५ रनमा समेटिएको हो । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए ।

निर्धारित ५० ओभरको खेलमा हङकङ ४३.१ ओभर मात्रै मैदानमा टिक्न सक्यो । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले सुरुवातदेखि नै हङकङलाई दबाबमा राखेको थियो ।

टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि सागर ढकाल एक्लैले हङकङका ५ ब्याट्सम्यानलाई पेवेलियन फर्काएका थिए। रनको खाता नखोल्दै २ विकेट गुमाएको हङकङलाई कुनै पनि ब्याट्सम्यानले उच्च योगफलको दिशातर्फ डोर्‍याउन सकेनन् ।

हङकङका नसरुल्ला राना र राहुल शर्मा सुरुवातमै शून्य रनमा पेवेलियन फर्किए। सागरको बलमा नसरुल्ला स्लिपमा क्याच आउट हुँदा शर्मालाई भने हरि चौहानले स्टम्पिङ गरेका थिए । कलहान मार्क चल्लुले १९ तथा कप्तान अदित गोरवाराले २४ रन बनाएर हङकङको पारी समाल्न खोजेका थिए।

मलेसियाको किनरारा ओभर मैदानमा नेपाल ९६ रनको लक्षका साथ केहीबेरमा मैदान उत्रिनेछ । नेपालले सोमबार भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

यसैगरी,सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल मेथडका आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको थियो । उपाधि जित्ने टोली यू-१९ एसिया कपका लागि छनोट हुनेछ ।एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित