
-प्रतिक पौडेल
भैरहवा, २४ असार । असार महिना सकिन लाग्दा सम्म पनि प्रदेश- ५ का अधिकांश जिल्लामा राम्ररी रोपाई हुन सकेको छैन । रोपाईको सिजन सुरु भएसँगै मलको अभाव भएपनि मलको व्यवस्था नहुँदा किसानहरु मर्कामा परेका छन् ।
मल अभावको गुनासो धेरै आएपछि प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भैरहवास्थित साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पुगि किसानलाई सहज रुपमा मल वितरण गर्ने वातावरण बनाउन निर्देशन दिएकी छन् ।
प्रदेश पाँचमा पर्ने तराईका अन्य जिल्लाहरु धान उत्पादनका दृष्टिले महत्वपूर्ण छन् । देशको कुल धान उत्पादनको २२ प्रतिशत पाँच नम्बर प्रदेशले ओगटेको छ । मल अभाव हुँदा प्रदेशमा रोपाई कम भएपछि किसानले पाउनुपर्ने मल सहज बनाउन कुनै कसर बाँकी नराख्न पौडेलले निर्देशन दिएकी हुन् ।
किसानको समस्यालाई आफ्नो समस्या ठानेर अगाडी बढ्न उनले आग्रह गरिन् । कृषिप्रधान देशमा मलको अभावमा वर्षेनी किसानले दुःख पाउनु ठीक नभएको मन्त्री पाैडेलले बताइन् ।
साल्ट ट्रेडिङ लिमिटेड भैरहवाका प्रमुख हरिचन्द्र श्रेष्ठले माटोलाई सन्तुलनमा ल्याउन सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट उपयुक्त मल भएको बताए । उनले गैर अनुदानको मलले खेतीलाई नोक्सानी तथा उत्पादकत्व कम भए क्षतिपूर्ति दिने व्यवस्था गरिएको कार्यालयका बताए ।
साल्ट ट्रेडिङले गएको ३ वर्ष देखि सरकारको अनुमतिमा अनुदानको सहित गैर अनुदानको मल समेत विक्री गर्दै आएको छ । “सुरुमा गैर अनुदानको ६ सय मेट्रिक टन मल विक्री गर्न गाह्रो थियो, अहिले हामी किसानलाई मलको बारेमा सिकाउँदै हिडेका छौँ, अहिले हाम्रो २८ सय मेट्रिक टन मल विक्री भैसकेको छ ” श्रेष्ठले भने ।
त्यस्तै, कृषि सामाग्री कम्पनी लिमिटेड कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाका प्रबन्धक राजेन्द्र बहादुर कार्कीले डिएपी मल नआउँदा किसानलाई वितरण गर्न नसकेको बताए । उनले मलका लागि जीटूजी प्रक्रिया नै उपयुक्त हुने बताए । कार्कीले युरिया मल भए पनि डिएपीको अभाव भएकै कारण किसानलाई मल वितरण गर्न कठिनाइ भएको बताए ।
त्यस्तै, मन्त्री पौडेलले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेललाई भेटेर मल सहज वितरणका लागि समन्वय गरिदिन आग्रह गरेकी छन् । प्रजिअ पोखरेलले रोपाईको समयमा किसानले मलको अभावमा दुःख पाएको गुनासो आएकोले यसलाई गम्भिर रुपमा लिएको बताए ।
वर्षेनी रोपाईको सिजनमा मलको अभाव हुने गर्दछ । डिएपी आवश्यकता भएको बेला युरिया पाइने र युरिया आवश्यकता भएको बेला डिएपी पाउने कारणले किसानहरुलाई धान रोपाइ गर्न असहज हुँदै आएको छ ।















प्रतिक्रिया