बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

मन्त्रीहरूको कार्यशैली धाकभन्दा धक्कु ठूला, हिड्दाखेरि खुट्टा लुला

सूर्य थापा २०७६ असार २४ गते ८:१६

-सूर्य थापा

यो कसैको व्यक्तिगत विरोध होइन । तर दुईतिहाइ बहुमत नजिकको वर्तमान सरकारलाई सनातन गठबन्धन सरकारहरू भन्दा भिन्न हैसियत, भूमिका र स्थिरताका साथ संचालन गर्न र हुन किन कठिनाई परेको होला ? जनतको मनमनमा प्रश्नहरू उठेका छन् ।

किनभने,

१. पूर्वएमालेकै कतिपय नेता र सांसदहरूद्वारा शृङ्खलाबद्ध र नियोजित रूपमा सरकारको बेइमानीपूर्ण आलोचना र भत्र्सना भएको छ । सत्तारूढ सांसदहरू नै पार्टीको अनुशासन र मार्ग दर्शनमा नचलिरहेको जस्तो देखिएको छ ।

२. पूर्वमाओवादी केन्द्रका तर्फबाट मन्त्री भएका केही व्यक्तिहरूको विवादास्पद निर्णय निर्देशित र नीहित परिणाम लक्षित जस्तो छ । त्यसो गर्दा कुटनीतिक सम्बन्धको समेत ख्याल नगरी बिगार्ने खालको र संशयपूर्ण छ ।

३. सरकारका राम्रो कामको प्रतिरक्षा नै नगरी मन्त्रीहरू लोकसेवामा नाम निकालेर ३० बर्ष पूरै अवधि र ५८ बर्ष उमेरहदसम्म निरन्तर पदमा विराजमान हुन आएजस्तो रवाफ प्रदर्शन गरिरहेको पाइन्छ । नीति, कार्यक्रम र बजेट मन्त्रीमुखी हुन पुगेको छ, आफ्नो हात जगन्नाथ गरिएको छ र जनमुखी बनाउन कोशिश नै भएको देखिएन ।

४. मन्त्रीहरू सबै अत्यन्त जान्ने सुन्ने देखिन चाहने, तर खासमा केही नजान्ने जस्तो सावित भएर सूर, ताल र लयबिहीन मन्त्रिपरिषद् प्रतीत हुन्छ । मन्त्रीहरूको कार्यशैली धाकभन्दा धक्कु ठूला, हिड्दाखेरि खुट्टा लुला जस्तो भएको छ । यसले गर्दा नै सफल कार्यसम्पादन देखिएको छैन ।

५. बोल्नै नपर्ने बिषयमा प्रधानमन्त्री र सल्लाहकारहरूको जवाफी फायरिङ चलेको छ । काममा दिने जवाफ कुराले दिँदा तिक्तता बढ्न बल पुगेको छ । भारतमा १० बर्ष मनमोहन सिंह र चीनमा सी जिन पिङको जाली कार्यशैली अनुकरण गरी नेतृत्वले कुराले भन्दा कामले परिणाम देखाउन जरूरी छ । मूल्याङ्कन त कसैको पनि सुन्दर कुरामा होइन, औसत काममा हुने हो ।

६. सारा अपजस प्रधानमन्त्रीमाथि थोपरेर जनमतकै खिल्ली उडाउने प्रपंच । पहिले (२०१६मा) बीपीले सकेनन् । अहिले(२०७६ मा) केपीले नसकेको भन्ने माहोल बनाउने षड्यन्त्रमूलक सक्रियता र चलखेल जारी छ ।

७. केपी ओलीका पखेटा काटेर र लोकप्रियता कमजोर पारेर मात्र आफू प्रभावी हुन सक्ने प्रतिस्पर्धी विभिषण प्रवृत्तिको गठजोडको प्रयास भएको पाइन्छ । विदेशी शक्तिहरूको सरकारलाई घेराबन्दी र थुनछेक तथा नेकपामा विभाजनकारी कोशिशअन्तर्गत प्रोत्साहन, मलजल र दानापानी चलेको छ ।

८. एकपछि अर्को गरी सरकारविरुद्ध भ्रमको तुवाँलो सिर्जना गरिएको छ । खानेपानी मन्त्री मेलम्चीमा चुर्लुम्मै भएर उपत्यकाबासी आक्रोसित छन्, उद्योग र कृषिमन्त्री विषादी प्रकरणमा निर्वस्त्र हुनु निकै दुखद छ ।

मलेशियाको रोजगार गन्तव्यको विवादका कारण डेढ बर्षदेखि निरन्तर समस्या भएर श्रममन्त्रीको पुरानो छवि धूमिल भएको छ । विधेयकहरूको तयारी र दर्ता एवं कानून निर्माणको प्रक्रियामै केही मन्त्रीहरूको खेलाँची र चरम हेलचेक्राँई प्रमाणित भएको छ । गुठीआदि विधेयक जनमत, तथ्य र यथार्थ विपरित हुनाले फिर्ता गर्न बाध्य हुनुपरेको छ । लोकसेवाको विज्ञापनविरुद्ध गरिएको षड्यन्त्र भने असफल भयो । चिकित्साशास्त्र विधेयक र लोकसेवाको सूचनाको विरोधमा उत्रिन र उतार्नेहरू नाजवाफ र निरूत्तर भएका छन् ।

९. भ्रष्ट, स्वार्थी र माफियाहरूको उछलकूद जारी । सरकार दूरी कायम गर्न अनिच्छुक र प्रभाव बढ्दो छ ।

१०. स्थायी सरकार कर्मचारीतन्त्र मणि हराएको सर्पजस्तै काम र परिणाममा असहयोगी र लक्ष्यबिमुख नै सावित छ ।

११. पार्टीको भूमिका शून्यप्राय रहेको छ । एकता प्रक्रियामा ढिलाइको सरकार संचालनमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको छ । दोस्रा अध्यक्षको सार्वजनिक अभिव्यक्ति सदैव आगोमा पानी हालेर समस्या समाधानमुखी होइन, इन्धन हाले जस्तो अस्थिरता बढाउन लक्षितजस्तो र तरंगित पार्न उद्दत महसुस गर्न सकिन्छ ।

१२. नेकपाको डुंगा डुब्दा सवार कोही सुरक्षित नहुने निश्चितप्रायः छ । डोकाको कथा त व्यवहारमा चरितार्थ हुनेछ नै । हरेक दुष्ट छोराहरू बाबुलाई डोकामा हालेर आफ्नो बाबुलाई भीरबाट खुरमुर्याउन क्रियाशील भएजस्तै अनुभव हुन्छ यतिबेला ।

तर नियति त सबका सबले आफ्नो पनि यस्तै बेहोर्नु अनिवार्य हुनेछ भन्ने बुझेकै राम्रो र बुद्धिमत्तापूर्ण हुन्छ होला । नागरिक तहमा बेचैनी, छटपटी र आक्रोस बढिरहेको बिडम्बनायुक्त अवस्था स्थिरता, विकास र समृद्धिको लागि धेरै खतरनाक सूचक होइन र ?

प्रतिक्रिया
सम्बन्धित