सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

कर्नाटकमा कांग्रेस–जेडिएस सरकार संकटमा, ११ विधायकले राजीनामा दिए

दैनिक नेपाल २०७६ असार २२ गते १०:४०

नयाँदिल्ली, २२ असार । भारतको कर्नाटक राज्यमा कांग्रेस र जेडिएसको गठबन्धन सरकार अल्पमतमा आएको छ । सरकार बनाएको १३ महिनामै कर्नाटकमा जनता दल (सेक्युलर) र कांग्रेसको गठबन्धन सरकार संकटमा आएको हो । अब भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाउने सम्भावना छ ।

शनिबार कांग्रेस–जेडिएस गठबन्धनका असन्तुष्ट १३ विधायकले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा कांग्रेसका १० र जेडिएसका तीन विधायक छन् ।

विधानसभा अध्यक्ष केआर रमेशले राजीनामा स्वीकार गरेमा २२४ विधायकसहितको कर्नाटक विधानसभामा गबन्धनसँग विधायक संख्या १०५ हुनेछ । हाल कांग्रेस–जेडिएससँग ११८ विधायक छन् । बहुमतका लागि ११३ विधायकको समर्थन चाहिन्छ ।

कर्नाटकमा भाजपाको विधायक संख्या १०५ छ । विधानसभा अध्यक्ष रमेशले आइतबार बिदा रहेको र आफूले सोमबार पनि बिदा लिएकाले यो विषयलाई आफूले मंगलबार मात्रै हेर्ने बताएका छन् ।

राजीनामा दिएका ११ विधायकहरु विशेष विमान मार्फत मुम्बई पुगेका छन् र उनीहरु एक सुविधा सम्पन्न होटलमा बसेका छन् । कांग्रेसले यी विधायकलाई फेरि आफ्नो पक्षमा ल्याउन नसकोस् भनेर यस्तो गरिएको हुन सक्ने जनाइएको छ । पाँच वा ६ विधायकले सोमबार राजीनामा दिने सम्भावना रहेको बताइन्छ ।

यसबाट स्पष्ट भएको छ कि भाजपाले १०५ विधायकसहित प्रदेशमा सरकार बनाउन दाबी पेश गर्न सक्नेछ । राजीनामा दिनेमा बैंग्लोरका कांग्रेसका चर्चित विधायक तथा पूर्व मन्त्री आर रामलिंगा रेड्डी पनि सामेल छन्, जुन गठबन्धनका लागि ठूलो झड्का हो ।

प्रतिक्रिया
सम्बन्धित