नयाँदिल्ली, १३ असार । भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्कका लागि उडेको विमान लन्डनमा आकस्मिक अवतरण गरिएको छ । बम राखिएको हल्ला चलेपछि एआई १९१ विमान उत्तर पश्चिमी लन्डनको स्टनस्टेड विमानस्थलमा बिहीबार दिउँसो आकस्मिक अवतरण गरिएको हो ।
अवतरण गर्ने क्रममा विमानलाई टाइफुन फाइटरले इस्कर्ट गरेको थियो । एयर इन्डियाले एक ट्विटमार्फत सो विमानमा बम राखिएको हल्ला चलेको जनाएको थियो । तर, केही समयमै सो ट्विट डिलिट गरिएको थियो । सर्वसाधारणलाई त्रास फैलाउन बमको हल्ला फिँजाइएको विमान कम्पनीका एक अधिकारीले बताएको रोयटर्सले जनाएको छ ।
विमान बेलायती समयअनुसार बिहान सबा १० बजे स्टनस्टेड विमानस्थलमा अवतरण गरेको विमानस्थलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । खाली गराइएको विमानलाई विमानस्थलको अलग क्षेत्रमा राखिएको जनाइएको छ । विमानभित्र कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।
विमान अवतरणपछि यात्रुको एक–एक गरी सुरक्षा जाँच गरिएको एक यात्रुले ट्विट गरेका छन् । सुरक्षाकर्मीले प्रत्येक यात्रुका झोला जाँच गर्नुका साथै कुकुर परिचालन गरेको उनले बताए ।















प्रतिक्रिया