बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

भाञ्जीसँग ‘काण्ड’ मच्चाउने मामा यसरी परे प्रहरी फन्दामा

प्रभावकारी बन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रम

दैनिक नेपाल २०७६ असार १० गते ११:२९

प्रहरीसँग एकदिन कार्यक्रम अन्तर्गत जिप्रका झापामा आएका विद्यार्थीसँग कुरा गर्दै एसपी दिनेशराज मैनाली । तस्वीर सौजन्य : जिप्रका, झापा

झापा, १० असार । झापाको शिवसताक्षी नगरपालिकाकी १५ वर्षिया एक बालिकालाई उनका मामाले पटक–पटक बलात्कार गर्दै आएका थिए । पीडित किशोरीले यो कुरा न परिवारलाई भन्न सकेकी थिइन्, न साथीहरुलाई । डर र त्रासले कसैसँग पनि आफूमाथि भइरहेको दुर्व्यवहारबारे बोल्न उनलाई आँटै आएको थिएन ।

तर, जब समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीसँग एकदिन कार्यक्रममा उनी सहभागी भइन्, त्यसपछि उनलाई आफूमाथि भइरहेको ज्यादतीबारे बोल्ने आँट आयो । समुदाय–प्रहरी साझेदारी अन्तर्गतको विद्यालय केन्द्रीत कार्यक्रममा प्रहरीले विद्यालयमा विभिन्न सचेतानमुलक कार्यक्रम गुर्नका साथै प्रहरीसँग एकदिन कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी कार्यालयको अवलोकन भ्रमण पनि गराउने गरेको छ ।

प्रहरी, सवारी र युनिफर्मसँगको अनुभव एवं प्रहरी कार्यालय तथा कन्ट्रोल रुमका गतिविधि प्रत्यक्ष अवलोकन गर्नाले विद्यार्थीहरुमा प्रहरीप्रतिको विश्वास पनि  बढ्दै गयो । फलस्वरुप, शिवसताक्षीकी ती बालिकाले मामाको कुर्ततबारे बोल्न सकिन् ।

कार्यक्रममा झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आफूहरुमाथि परेका कुनैपनि समस्याका विषयमा प्रहरीलाई जानकारी गराउन किशोरी तथा बालबालिकाहरुलाई आग्रह गर्छन् । आफूमाथि भइरहेका दुर्व्यवहारबारे प्रहरीमा जानकारी गराए कानुनी उपचार खोज्ने प्रहरीको प्रतिवद्धापछि किशोरीहरु खुलेर कुरा गर्न थालेका छन् । यसैको उदहारण शिवसताक्षीकी ती बालिका हुन् ।

प्रहरीसँग एकदिन कार्यक्रममा सरिक भएपछि उनले सुरुमा आफूमाथि भइरहेको ज्यादतीबारे साथीहरुलाई भनिन् । साथीहरुले शिक्षिकालाई भने । र, शिक्षिकाले प्रहरीलाई घटनाबारे जानकारी गराइन् । त्यसपछि ईलाका प्रहरी कार्यालय झिलझिलेले ती बालिकाका मामालाई पक्राउ गरि आवश्यक कानुनी कारवाही अघि बढायो । बालिकाका ४१ वर्षीय मामा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

यति मात्र नभई जिल्लामा हुने विभिन्न किसिमका अपराध, तस्करी, चोरी, गुण्डागर्दीविरुद्ध नागरिकहरु प्रहरीसँग सहकार्य गर्न थालेका छन् । फलस्वरुप खुला सीमाको फाइदा उठाइरहेका तस्करहरु छट्पटाइरहका छन् भने जिल्लाको शान्ति, सुरक्षा एवं सुव्यवस्थामा क्रमिक सुधार आइरहेको छ ।

समुदाय–प्रहरी साझेदारी अन्तर्गत नै अहिले प्रहरीले झापाका विभिन्न स्थानीय तह तथा विद्यालयहरुमा लागूऔषध नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइरहेको छ । क्रिमिनल ल एण्ड जस्टिसमा एलएलएम गरेका एसपी मैनाली प्रशिक्षण दिन विद्यालय–विद्यालय पुगिरहेका छन् ।

प्रहरीले विद्यार्थी–शिक्षक, शिक्षक–अभिभावक, विद्यार्थी–अभिभावकसँग छुट्टाछुट्टै र संयुक्त कार्यक्रम गरिरहेको छ । साइबर क्राइम, लागूऔषध नियन्त्रण र निषेध लगायतका विषयमा उनीहरुसँग अन्तर्क्रिया र छलफल हुने गरेको छ ।

यसैगरी, प्रहरीको यो अभियानमा नेपाल प्रहरी श्रीमती संघले पनि साथ दिइरहेको छ । सामाजिक संस्था आसरा सुधार केन्द्र रानीबारी काठमाडाैँले पनि नेपाल प्रहरी श्रीमती संघसँग सहकार्य गरी झापाको धुलाबारीमा लागूऔषध,  घरेलु तथा याैनजन्य हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ ।

यस्तै, लैंगिक हिंसा नियन्त्रण अन्तर्गत लिंगका आधारमा हुने अपराध, करणीसम्बन्धी कसुर, यौन दुर्व्यवहार, मानव बेचविखन तथा ओसारपसार, घरेलु हिंसा, बहुविवाह, बोक्सी आरोप, बालविवाह र गर्भपतन जस्ता विषयमा पनि प्रहरीले समुदायसँग सचेतानमुलक कार्यक्रम गरिरहेको छ ।

यस्तै, हिंसाबाट पीडितलाई तत्काल उद्धार तथा पीडकलाई तत्काल कानुनी कारवाही गर्ने जस्ता काम प्रहरीले गरिरहेको छ । जसका कारण समुदायमा प्रहरीप्रतिको विश्वास बढ्दै गएको छ ।

सचेतना अभिवृद्धिका लागि साझेदारी निर्माण गर्न जिल्ला, पालिका, वडा, टोल र विद्यालयमा प्रहरीले प्रभावकारी उपस्थिति जनाइरहेको छ ।

पछिल्लो समय जिल्लामा  तस्करी र अपराधका घटना न्यूनिकरण भएको भद्रपुर हिमालीका स्थानीय जयप्रकाश ओली बताउँछन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम र प्रहरीको प्रभावकारी उपस्थितिका कारण तस्करी र अपराधमा कमी आएको उनको बुझाई छ ।

प्रतिक्रिया
सम्बन्धित