मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

अमेरिकाले इरानमाथि लगायाे नयाँ प्रतिबन्ध, आयातुल्लाह अली खामेनीलाई निशाना

दैनिक नेपाल २०७६ असार १० गते १०:४३

लण्डन, १० असार । अमेरिकाले इरानमाथि लगाएको नयाँ प्रतिबन्ध लागु भएको छ । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई निशाना बनाएर अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि कडा प्रतिबन्ध लगाएको र थप गरिएको यो प्रतिबन्ध अमेरिकी ड्रोन खसालेको प्रतिफल रहेको बताएका छन् ।

इरानको सम्पूर्ण गतिविधिका लागि अन्ततः सर्वोच्च नेता खामेनी नै जिम्मेवार हुने भएकाले उनलाई निशाना बनाएर प्रतिबन्ध लगाएको अमेरिकाले बताएको छ ।

इरानका विदेश मन्त्री जावेद जारिफले अमेरिकाले थप प्रतिबन्ध लगाएर कूटनीतिक दमन गरेको बताएका छन् । यस्तै ट्रम्प प्रशासनमा युद्धको भोक रहेको देखिएको पनि जाफरीले आरोप लगाएका छन् । पछिल्लो समय अमेरिका र इरानबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ ।

इरानले गएको हप्ता अमेरिकाको एउटा गुप्तचर ड्रोनमा आक्रमण गरेर खसालेपछि दुई देशबिचको तनाव उत्कर्षमा पुगेको हो । आफ्नो हवाई सीमामा प्रवेश गरेकाले ड्रोन खसालेको इरानले बताएको छ ।

त्यसअघि गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिकाले आरोप लगाएको थियो । इरानले आरोप अस्वीकार गरे पछि साउदी अरेबियाले पनि इरानकै संलग्नता रहेको उल्लेख गरेको थियो ।

गल्फ अफ ओमानको घटना र ड्रोनमाथिको आक्रमणपछि रुष्ट भएको अमेरिकाले इरानका तीन क्षेत्रमा आक्रमणको तयारी गरेको भए पनि सर्वसाधारण मारिने सम्भावनाका कारण अन्तिम समयमा रोकिएको बतायो ।

उसले त्यसपछि इरानको हतियार प्रणालीलाई लक्षित गरी साइबर आक्रमण गरेको थियो । तर इरानले भने साइबर आक्रमण असफल भएको दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित