१८ कार्तिक २०८३, बुधबार

खानेपानीको समस्याले धारामा ताल्चा !   

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ८ असार । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।

खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, “खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौँ ।” उहाँका अनुसार दुई धारामा ताल्चा लगाइन्छ, साँझ ६ बजेदेखि ९ बजेसम्म पानी भर्नका लागि ताल्चा खोलिन्छ ।

“अरु समयमा सधँै ताल्चा लगाएर नै राख्ने गरिएको छ”, स्थानीयवासी तेजकुमारी वंशीले भन्नुभयो, “खानेपानीको दुःखले गर्दा यस्तो गरिएको हो ।” उहाँका अनुसार खानेपानीको दुःखले गर्दा रित्तो गाग्री समयमै धारामा लगेर राख्नुपर्ने बाध्यता छ । ग्वास्लुङका १०० भन्दा बढी घरधुरी खानेपानी समस्याबाट पीडित छन् ।

खानेपानीको समस्याले गर्दा साँझ पर्न थालेसँगै धारामा स्थानीयवासीको भीड हुने गरेको छ । “साँझ पर्न थालेपछि अरु काम गर्न भ्याइँदैन, गाग्री बोकेर धारातर्फ दौडनुपर्छ”, स्थानीयवासी मीनकुमारी चन्दले भन्नुभयो ।

ह्वीलचियरमै विद्यालय

तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका मानव चन्द अपाङ्गता हुनुहुन्छ । उहाँ हिँडडुल गर्न सक्नुहुन्न । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहारा आवश्यक पर्छ । सोही वडास्थित राधा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत चन्द दैनिक ह्वीलचियरमै विद्यालय जानुहुन्छ ।

चन्दलाई विद्यालय लैजान दैनिक एक साथी आवश्यक पर्छ । चन्दले भन्नुभयो, “उकालोओरालो कच्ची बाटो भएकाले एक्लै जान सक्दिनँ, साथीले आएर लैजान्छ ।” चन्दलाई विद्यालय लैजान र घर पुर्याउन सोही विद्यालयमा अध्ययनरत साथीले सहयोग गर्ने गरेका छन् । “सबैले पालैपालो विद्यालय आउन र घर फर्कन सहयोग गर्छन्”, उहाँले भन्नुभयो ।

एक वर्षदेखि ह्वीलचियरमै विद्यालय जान थाल्नुभएका उहाँलाई त्यस अगाडि बोकेर विद्यालय पुर्याउनुपथ्र्यो । अहिले ह्वीलचियर भएपछि केही सहज भएको चन्दले बताउनुभयो ।

“बोकेरभन्दा ह्वीलचियरमा केही सहज छ”, उहाँले भन्नुभयो, “गाउँको बाटोको अवस्थाले गर्दा ह्वीलचियरमै पनि कहिलेकाहीँ समस्या आउँछ ।”  –रासस