सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

भारतसँग पाकिस्तान ८९ रनले पराजित

दैनिक नेपाल २०७६ असार २ गते ६:४९

काठमाडौं, २ असार । भारतले इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ ।

आइतबार राति सम्पन्न वर्षाले प्रभावित खेलमा डक वर्थ लुइस नियम अनुसार भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको हो ।

शुरुमा भारतले पाकिस्तानलाई ३३७ रनओ लक्ष्य दिएको भएपनि वर्षाले खेल अवरुद्ध भएपछि पाकिस्तानले ४० ओभरमा ३०२ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफमा पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाउदै २१२ रन मात्र बनाएपछि भारत ८९ रनले विजयी भएको हो ।

पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ६२ रन बनाए भने बबर आजमले ४८ रन बनाए । इमाद वासिमले ४६, शडाब खानले २० रन बनाए ।

सरफराज अहमदले १२ रन बान्ये भने इमाम उल हकले ७ रन बनाएका थिए । भारतीय बलर कुलदीप यादव, हार्दिक पाण्डेय र विजय शंकरले २–२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको थियो । बर्षाले केहीबेर खेल अवरुद्ध भएपनि बर्षा रोकिए पछि खेल फेरी सूचारू भएको थियो । भारतले ४६।४ ओभरमा ४ विकेट गुमाएर ३०५ रन बनाउदा खेल वर्षाले रोकिएको थियो ।

भारतका लागि ओपनर रोहित शर्माले १४० रनको शतकीय पारी खेलेका थिए । रोहितले ८६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । भारतका अर्का ओपनर केएल राहुल ५७ रन बनाएर आउट भएका थिए ।

भारतका लागि पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गरेका थिए भने दोस्रो विकेटका लागि रोहित र विराट कोहलीले ९८ रनको साझेदारी गरेका थिए । त्यस्तै विराट र हार्दिकले २६ बलमा ५१ रनको साझेदारी गरेका थिए ।

कप्तान विराट कोहली ७७ रन बनाएर आउट भए भने हार्दिक पाण्डेयले २६ रन र महेन्द्र सिंह धोनी एक रन बनाएर आउट भए । विजय शंकरले अविजित १५ रन बनाए भने केदार जादभले अविजित ९ रन बनाए ।

पाकिस्तानका बलर मोहमद अमिरले ३ विकेट लिएका थिए । अमिरले विराट कोहली, हार्दिक पाण्डेय र महेन्द्र सिंह धोनीको विकेट लिएका थिए । त्यस्तै हसन अली र वहाव रियाजले एक एक विकेट लिए ।

यो सँगै विश्वकपको इतिहासमा भारतले पाकिस्तानविरुद्ध आफ्नो अपराजित रेकर्ड कायम राखेको छ । अहिलेसम्म विश्वकपमा खेलेका सातै खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । जितसंगै भारतले ४ खेलबाट ७ अंक जोडेको छ । तेस्रो स्थानको भारतले ३ खेलमा जित र १ खेलमा अंक पाएको थियो ।

पाकिस्तानको यो तेस्रो हार हो । यो हारसंगै पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेलमा पुन हार व्यहोरेको छ । पाकिस्तानले ५ खेलमा ३ अंक जोडेको छ । भारतविरुद्ध विश्वकपमा पाकिस्तानको यो सातौं हार हो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित