बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन गर्ने राप्रपा (संयुक्त) को चेतावनी

दैनिक नेपाल २०७६ जेठ ३० गते १६:४५

काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

विद्येयक फिर्ता नगरे आन्दोलन गर्नेपनि उनीहरुको चेतावनी छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्षद्धय राणा र लोहनीले संसदमा प्रस्तुत उक्त विद्येयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी गरेका छन् ।

अध्यक्षद्धयले उक्त विद्येयकले नेपालीहरुको धार्मिक निष्ठा र विश्वासको जगलाई खलबलाउने, सनातन धर्ममाथि घात, धार्मिक र सांस्कृतिक क्रियाकलापको राजनीतिकरण गर्ने, परम्परागत गुठीको सामूहिकताको व्यवस्थालाई सखाप पार्ने र सरकारी सहयोगबाट गुठीको सम्पत्ति भूमाफियाको स्वार्थमा परिचालन गर्ने संभावनालाई अगाडि बढाउने देखा परेको आरोप लगाए ।

अध्यक्ष जबराले भने,‘जुन रुपमा यो विद्येयक पेश भएको छ, त्यो पारित हुन गए नेपाली जनताको सांस्कृतकि विनास भई देशप्रति अपराध गरेको ठहरिनेछ ।’ उनले नेपालीको गुठीको संरचनाले नेपाली संस्कृति, कला र आस्थाको अभिव्यक्तिको रुपमा छरिएर रहेका काठमाडौंमा उपत्यका र देशभर छरिएर रहेका धार्मिक र सांस्कृतिक संस्थाहरुको व्यवस्थापनमा विकेन्द्रित संरचना कायम गर्दै आएको सुनाए ।

त्यस्तै, कार्यक्रममा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उक्त विद्येयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर विक्रि गर्न पाउनेगरि हजारौं रोपनी÷विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाए ।

लोहनीले उक्त विद्येयकमार्फत सरकारले व्यवसाय गर्ने दाउ राखेको पनि आरोप लगाए । उनले भने,‘सरकार यसमा राजनीतिकरण गर्ने दाउमा छ ।’ उनले वर्तमान सरकार वामपन्थी नभई द्रव्यपन्थी भएको पनि आरोप लगाए ।

उनले हाल जुन रुपमा ऐन आएको छ त्यो राष्ट्रघाती रहेको पनि टिप्पणी गरे । उनले भने,‘नेपालको सांस्कृतिक पहिचानमा धावा बोल्ने यो विद्येयक अस्विकार गर्नु हाम्रो नैतकि दायित्व हो ।’

आफ्नो पार्टीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलाई समर्थन नगर्ने पनि लोहनीले स्पष्ट पारे । त्यस्तै बहुचर्चित र विवादित ललिता निवास प्रकरणबारे टिप्पणी गर्दै लोहनीले यदि मुआब्जा बुझेको हो भने नेपाल सरकारको नाममा जग्गाको लालपुर्जा आउनुपर्ने धारणा राखे ।

राप्रपा (संयुक्त) ले संसदमा पेश भएको विद्येयक फिर्तासँगै गुठी व्यवस्थापनमा सुधार गर्न राष्ट्रव्यापी रुपमा गुठियार समूह, मठ–मन्दिरका संचालकहरु तथा यससंघ सम्बन्धित विज्ञहरुसँग अन्तरक्रिया गर्नुपर्ने माग राखेको छ ।

विज्ञप्तीमा थप भनिएको छ,‘यस क्रममा सरकारले खडा गरेको सार्वजनिक गुठी जग्गा जाँचबुझ समितिले तयार पारेको प्रतिवेदन समेत सार्वजनिक गरि राष्ट्रिय बहस सुरु गरियोस ्। यो प्रक्रिया पुरा भएपछि मात्र विद्येयकको तर्जुमा गरियोस् ।’

त्यसैगरी ‘राष्ट्र बचाऔं, राष्ट्र बनाऔं’ महाअभियान नेपालका अध्यक्ष सिपी पौडेलले अहिलेको राज्यसंयन्त्र नै निकम्मा भएको आरोप लगाएका छन् । उनले भने,‘अहिलेकै संयन्त्रबाट यो देश बन्दैन । देशको अस्तित्व नै रहँदैन । देशलाई प्रगतिको पथमा डोर्याउनको लागि पनि अहिलेको राज्यसंयन्त्रलाई पूर्ण रुपमा पूर्नसंरचना गर्न जरुरी छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अधिवक्ता समेत रहेका अध्यक्ष पौडेलले देशमा न्याय दिन बसेका व्यक्तिहरु नै घुषखोर भएको आरोप लगाए । उनले भने,‘घुषखोर न्यायाधीशहरुबाट जनताले के को न्याय पाउने ? अस्ति भर्खरै काठमाडौं जिल्ला अदालतका न्यायाधिशले घुस डिल भएको खबर प्रमाणसहित बाहिर आएको र प्रमाणसहित अख्तियारको फन्दामा परे ।’ उनले नेपालका न्यायाधीशहरु न्यायाधीश नभएर फैसलाधिश बनेको पनि आरोप लगाए ।

उक्त कार्यक्रममा स्वघोषित बाबा तथा माताहरुबाट पीडित महिला सीता थापाले आफूलाई व्यक्तिगत समस्या समाधान गरिदिने नाममा ठगिएको गुनासो पोखेकी छिन् ।

थापाकाअनुसार स्वघोषित बाबा तथा माताहरुले उपचारको नाममा ठगेर उनलाई सडकमा पुर्याईएको छ । उनले भनिन्,‘म त यस्ता स्वघोषित बाबा तथा माताहरुबाट ठगिएँ, अब यिनीहरुलाई राज्यले कारबाही गर्नुपर्छ ।

मजस्तै अरु पनि सोझासिधा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु नठगिउन भनेर म आज मिडियामा आएको छु ।’ पीडित थापा महाअभियानकै सहयोगमा आज मिडियामा आएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित